Logo

अर्थनीति

बजेटको आकार १२.६२ प्रतिशतले घटाइयो, अब १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित


gdpnepal
   २९ माघ २०८०, सोमबार


काठमाडौं। सरकारले बजेटको आकार १२.६२ प्रतिशतले घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको मध्यावधि समीक्षामार्फत आकार १२.६२ प्रतिशत बिन्दुले घटाइएको जानकारी दिए ।

जेठ १५ गते सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा चालुतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख गरी कुल खर्च १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरिएको छ।

यो रकम शुरू विनियोजनको ८७.३८ प्रतिशत हो ।

चालु आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्व र आन्तरिक ऋणबाट गरी जम्मा १४ खर्ब ८८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख र वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख रहने अनुमान गरिएको थियो ।
समीक्षा अवधिसम्म नेपाल सरकारको स्रोतबाट ५ खर्ब ३९ अर्ब ७७ करोड ९३ लाख, वैदेशिक अनुदानबाट ५ अर्ब ४० करोड ५४ लाख र वैदेशिक ऋणबाट २८ अर्ब ४४ करोड ८२ लाख खर्च भएको छ।


चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकार स्रोततर्फबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख खर्च हुने संशोधित अनुमान छ।

वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख खर्च हुने र वैदेशिक ऋणतर्फको १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान रहेको छ।

विकास निर्माण कार्यले गति लिई पुँजीगत खर्चमा वृद्धि हुने, आर्थिक ऐनले गरेका मू.अ.कर तथा अन्तःशुल्क छुटका सूचीका खारेजी, नयाँ क्षेत्रमा लगाइएका कर लगायतका कारणबाट लक्षित राजस्व सङ्कलन हुने अनुमान रहेको छ ।

मध्यावधि समीक्षामार्फत अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रमा सुधार आउँदै गरेको दावी गरे । लगानी सम्मेलनसँगै मुलुकमा लगानीको वातावरण बनेको उल्लेख गर्दै आगामी दिनमा आर्थिक गतिविधि थप सुधार आउने उनको भनाइ छ ।

अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक रहेको उनी बताउँछन् । बैंकिङ क्षेत्रको तरलतामा सुधार, ब्याजदर घट्दो, शोधनान्तरमा सुधार, पर्यटनमा सुधार देखिएको उनले बताए ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह