Logo

Banner-news

अन्ततः चिया मजदुर काममा फर्किए, ४५ दिनपछि खुले उद्योग !


GDP Nepal
   ३१ बैशाख २०७६, मंगलबार


काठमाडौं । व्यवसायीसँगको सहमतिपछि चिया मजदुर काममा फर्किएका छन् । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्थाबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका हुन् ।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार झापाको विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदुरका विभिन्न संघसंगठनबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिअनुसार अब चिया मजदुरले न्यूनतम पारिश्रमिक आधारभूत तलब २३१ रुपैयाँ, महँगी भत्ता १४५ रुपैयाँ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ पाउनेछन् । बढेको पारिश्रमिक गत साउनदेखि नै लागू हुनेछ ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरीले तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर संका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन् ।

चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै कठोर आन्दोलनमा थिए ।

नेपाल चिया विकास निगमअन्तर्गत झापाको दमक नगरपालिकामा रहेको हिमालय महालक्ष्मी टी गार्डेनले शनिबारदेखि काम सुरु गरेको थियो । यस्तै, टोकला चिया कमान मेचीनगर नगरपालिका, बर्ने चिया कमान बुद्धशान्ति गाउँपालिका र बाह्रदशी चिया कमान बाह्रदशी गाउँपालिका आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह