Logo

कर्पोरेट-बजार

सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने खालका विज्ञापन प्रकाशित नगर्न महासंघको चेतावनी


GDP नेपाल
   ३ असार २०८१, आइतबार


काठमाडौँ । सुनचाँदीका गरगहनाको ज्याला र जर्तिमा भारी छुट दिने भ्रामक विज्ञापन प्रकाशन गरेको प्रति सुनचाँदी व्यवसायी महासंघहरुले आपत्ति जनाएका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट भन्दै आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पार्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको प्रति आपत्ति जनाएका हुन् । 

महासंघका अनुसार काठमाडौँको विशाल बजारस्थित एक गहना फर्मले गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दतिविरुद्ध भ्रम फैलाएको हो । 

उक्त फर्मको भ्रमात्मक विज्ञापनले आम उपभोक्ता र व्यवसायी तथा कालीगढबीच विश्वासको शंकट पैदा गराएको बताउँदै महासंघले भनेको छ,” राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी “धमाका अफरहरु” दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढ बीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।”

यस्तै, यस प्रकारका विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने महासंघहरुको ठहर छ ।

“मजदुरको पारिश्रमिक, निर्माण क्षति(जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन् । साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ । टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ । माथिका यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ”, विज्ञप्ति उल्लेख छ । 

महासंघले आम उपभोक्तालाई उक्त प्रकारका भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न आग्रह गर्दै भनेको छ ,”हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोकी पारदर्शिता एवं स्वस्थ प्रतिस्पर्धा र स्वस्थ व्यवसायको अभिवृद्धिको लागि सम्बन्धित व्यवसायीहरुमा ध्यान देओस् भन्ने हामी चाहन्छौं । साथै सम्बन्धित व्यवसायीहरूलाई यस्तो विज्ञापन फिर्ता लिन र आगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न/नगराउन महासंघ सचेत गराउन चाहन्छौं । साथै हालसम्मको साथ सहयोगको लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको यस्तो भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न अनुरोध गर्न चाहन्छौं ।”

केही दिन अघि मात्र विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा छुट दिने योजना सार्वजनिक गर्दै १२ प्रतिशत ज्याला जर्ती शुल्क घटाएर ७ प्रतिशत कायम गरेको थियो ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह