काठमाडौँ । अफ्रिकन मुलुकहरुसँग आबद्ध अवैतनिक महावाणिज्य दूतहरुले आज उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटी अफ्रिकन मुलुकहरुसँगको दौत्य सम्बन्धलाई सुमधुर राख्न आग्रह गरेका छन् ।
सो अवसरमा कन्सुलरहरुले नेपाल र अफ्रिकन महादेशसँग पारस्पारिक सम्बन्ध, व्यापार र हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न जोड दिएका छन् ।
“हामीहरुले उपप्रधानमन्त्रीलाई भेटेर अफ्रिकन देशहरुसँग नेपालले लिन सक्ने लाभलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरेका छौ”, नेपालका लागि सेसल्सका अवैतनिक महावाणिज्यदूत नरेश दासले भने ।
सो भेटमा मन्त्री सिंहले महावाणिज्य दूतहरुले दिएका सुझावलाई आफूले आगामी दिनमा अगाडी बढाउने बताए । मन्त्री सिंहले ग्लोबलाइजेशनको अहिलेको अवस्थामा अफ्रिकन मुलुकसँगको सम्बन्धलाई सुमधुर राख्न आफू लागि पर्ने बताए । उनले महावाणिज्य दूतहरुले निर्वाह गरेको भूमीकाको उच्च प्रशंसा समेत गरे ।
सो भेटमा कन्सुलरहरुले मन्त्री सिंहलाई बधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । उक्त भेटमा नेपालका लागि दक्षीण अफ्रिकाका नेपाली कन्सुलर प्रदिप कुमार श्रेष्ठ, सेसल्सका नेपाली कन्सुलर नरेश दास, इथोपिएका नेपाली कन्सुलर राजेन्द्र गिरी र रुवाण्डाका नेपाली कन्सुलर प्रज्वलजंग पाण्डेको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया