Logo

कर्पोरेट-बजार

गोपाष्टमी महोत्सवको अवसरमा गौशाला धर्मशालाद्वारा ७ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण


GDP नेपाल
   २४ कार्तिक २०८१, शनिबार


काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण कार्यक्रम आज सम्पन्न गर्दै धर्मशालाले सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको हो । 

सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले समितिलगायत समिति अन्तर्गतका पशुपति गौशाला धर्मशालाबाट प्रदान भइरहेका सेवा कार्यको जानकारी दिने क्रममा धर्मशालाले २०५४/५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए । उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७०० जना व्यक्तिहरु लाभान्वित भएका छन् । आगामी दिनमा पनि धर्मशालाले निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई निरन्तर दिने अग्रवालले बताए ।  

धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म ३२४ बिरामीलाई २७ हजार ९७५ पटक डाइलाइसिस गरिसकेका छन् । त्यस्तै, हाल १९५ बिरामीले निःशुल्क डाइलाइसिस गराइरहेको उनले जानकारी दिए ।

‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने ।

यसका अलावा धर्मशालाले हरेक शनिबार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, शववाहनको निःशुल्क सेवा, मेला र पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवासलगायत सेवा पनि प्रदान गर्दै आएको अध्यक्ष तापडियाले जानकारी दिए ।

मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आइरहेको छ । काठमाडौंको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उनले बताए । काठमाडौंको गौशालामा २५० र समितिअन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवा ग्राम गौधाममा २५० गाईको संरक्षण भइरहेको र धादिङमा बृद्ध अवस्थाका गाईहरु संरक्षित रहेको अग्रवालले जनाए ।

उनका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेली गौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ भने जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ । 

अन्य गौशालाहरुले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यी गौशालाहरुले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेको अग्रवालको भनाइ छ ।

प्रकाशित : २४ कार्तिक २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह