Logo

Banner-news

यती एअरलाइन्स र तारा एयरले सगरमाथाबाट ३० टन फोहर उठाउने


GDP Nepal
   १९ भाद्र २०७६, बिहिबार


काठमाडौं । निजी क्षेत्रको यती एअरलाइन्स र उसको भगिनी कम्पनी तारा एयरले सगरमाथा क्षेत्रबाट सेप्टेम्बर महिनाभित्र ३० टन फोहर संकलन गरी व्यवस्थापन गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गन बर्सेनि सगरमाथा क्षेत्रको फोहोर संकलन र व्यवस्थापन गर्दै आइरहेको छ ।

यति र ताराले यस वर्ष सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँग सहकार्य गरी फोहोर संकलन गर्नेछन् ।

यसअघि यती एअरलाइन्सले ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको जनाएको छ ।

पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्नभएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो ।
दीगो विकास लक्ष्य एसडीजी अन्तर्गत जैविक विविधता संरक्षण, जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागिल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो ।

यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ ।
सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन् ।

यसरी संकलनभएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ ।

यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्ने जनाइएको छ । संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् ।

यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिन्छ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह