काठमाडौँको भृकुटीमण्डपमा आजबाट चौथो संस्करणको प्लाष्ट नेपाल एक्स्पो सुरु भएको छ ।
नेपालमा प्लाष्टिकजन्य वस्तुहरुको प्रयोग, यसको उपयोगिता, यसले अर्थतन्त्रमा पुर्याएको योगदानका साथै लगानी र उपलब्ध गराएको रोजगारीका बारेमा जानकारी दिन एक्स्पोको आयोजना गरिएको प्लाष्ट नेपालका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
मेलामा स्वदेशी र विदेशी गरी झण्डै ५८ वटा स्टलहरु रहेका छन् भने १५० भन्दा बढी लगानीकर्ताहरुको सहभागीता रहेको छ । मंंसिर १३ देखि १५ गतेसम्म चल्ने यस प्रदर्शनीको पहिलो दिनमा क्रेता र बिक्रेता देखि अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको आयोजकले बताएका छन् ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले प्लाष्टिकजन्य वस्तुहरुलाई हेर्ने दृष्टिकोण अहिले पनि नकारात्मक रहेको बताए । उनले वातावारणलाई देखाएर प्लाष्टिकजन्य उद्योगको योगदानलाई नजरअन्दाज नगर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।
“आज ७५ अर्बको लगानी, ८ सय साना र ठूला उद्योगहरु संचालनमा रहेको र हजारौलाई रोजगारी दिइरहँदा पनि यस क्षेत्रले राज्यबाट सम्मान पाउन सकेको छैन,” उनले भने ।
वार्षिक दसौँलाखटन प्लाष्टिक प्रयोग गरिए पनि यसको पुनः प्रयोग भने नेपालमा ८ देखि १० प्रतिशत मात्र हुँदा समस्या देखिएको बताउँदै उनले यस प्रति राज्यको तर्फबाट सहजीकरण गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवाल, सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल इन्टरनेशनल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिनेश श्रेष्ठ लगाएतले प्लाष्टिकजन्य वस्तुहरुको उत्पादन, यसको खपत र राज्यले यसलाई हेर्ने दृष्टिकोणका विषयमा आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया