Logo

Banner-news

पूर्वअध्यक्षको पत्रपछि तनावमा चण्डीः फेरिए डीजी, मुरारकाले हटाएकालाई पुनःनियुक्ति


GDP Nepal
   २ आश्विन २०७६, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा पूर्वसचिव धरणीधर खतिवडा नियुक्त भएका छन् । पूर्वसचिव खतिवडा यसअघि पनि महासंघको महानिर्देशक भइसकेर कार्यकाल पूरा नगरी विदा भएका थिए ।

महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी अमेरिका भ्रमणमा रहेकै बेला महानिर्देशकमा खतिवडाको अप्रत्यासित नियुक्ति भएको हो । महानिर्देशक नियुक्त भइसकेपछि अब तिवारीको निमित्त पदको औचित्य देखिँदैन । तर, उनलाई राजीनामाको मौका नै नदिइ हतारमा महानिर्देशक नियुक्तिभित्रको कथा भने झनै रोचक छ ।

निमित्त महानिर्देशक तिवारीलाई विशिष्ठ सदस्य चण्डिराज ढकालले पहिलेदेखि नै हटाउन चाहेका थिए । तिवारीमाथि ढकाल खनिुनको एउटै कारण थियो– वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँगको उनको निकटता । त्यसो त तीन महिनामा पूर्ण अधिकारसहितको महानिर्देशक बनाउने भनेर उनलाई लगिए पनि १ वर्षभन्दा बढी भइसक्दा समेत निमित्तमै सीमित राखिएको थियो ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमको जागिर छाडेर महासंघ आएका पूर्वपत्रकार तिवारी महासंघभित्रको राजनीतिबाट अवाक् भइसकेका थिए । हाल उनी प्रदेश १ उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का, उपाध्यक्ष राजेन्द्र राउतलगायतको टिमसँग अमेरिकाको कार्यक्रममा सहभागी छन् ।

नवनियुक्त महानिर्देशक खतिवडाले बुधबारै पदबहालीसमेत गरिसकेका छन् । उनी नातामा उद्योगसचिव यामकुमारी खतिवडाका दाइसमेत हुन् । उनले महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरे पनि तत्कालीन अध्यक्ष पशुपति मुरारकासँग कुरा नमिल्दा महानिर्देशक पदबाट राजीनामा दिएका थिए ।

खतिवडाले साधारणसभाको अगाडि राजीनामा दिएपछि साधारणसभाको वैधतामाथि नै प्रश्न उठेको थियो । किनकी साधारणसभाको निर्णय महानिर्देशकले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । तर, वरिष्ठ निर्देशक मीना श्रेष्ठलाई कार्यवाहक महानिर्देशकको जिम्मेवारी दिएर त्यतिबेला वैधानिक संकट टारिएको थियो ।

बुधबार पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई सम्बोधन गर्दै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय-अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ-संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिएका थिए । महासंघको सानो कार्यक्रममा पनि पुग्ने चण्डीराज ढकाल भने उनलाई पदवहाली गराउने कार्यक्रममा अनुपस्थित रहे र अध्यक्ष भवानी राणा तथा उपाध्यक्ष किशोर प्रधानमात्र उपस्थित रहे ।

महासंघका सात पूर्वअध्यक्षले शेखर गोल्छालाई अध्यक्ष बनाएरमात्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने र विशिष्ठ सदस्य पद खारेज गर्नुपर्ने लगायतको सुझावसहित विधान संशोधनमा सुझाव पठाएपछि आक्रोशित ढकालले महानिर्देशक फेरेको बताइन्छ ।
यसअघि महानिर्देशक बनाइएका अर्का पूर्वसचिव सुरेशमान श्रेष्ठले पनि महासंघभित्र काम गर्ने वातावरण नभएको भन्दै राजीनामा गरेका थिए ।

प्रकाशित : २ आश्विन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह