काठमाडौँ । नेपालभर रहेका ग्यास उद्योगीहरुको छाता संस्था नेपाल एलपि ग्यास उद्योग संघको २५ औँ स्थापना दिवस सम्पन्न भएको छ । संघका अध्यक्ष शिव प्रसाद घिमिरेले पानसमा दिप प्रज्वलन गरी २५ औँ स्थापना दिवसको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले संघले २५औँ वसन्त प्रवेश गर्दैगर्दा विगतका दिनमा थुप्रै समस्या र चुनौतीको सामना गरेको र अहिलेको अवस्थासम्म ल्याउन ग्यास उद्योगीहरुको अथक मिहिनेत र संघर्ष रहेको बताए । उनले व्यवसायीहरु एक भएर अघि बढेमात्र प्राप्त उपलब्धिको रक्षा गर्न सक्ने बताउँदै सबैलाई एक भएर अगाडी बढ्न आग्रह गरे ।
त्यस्तै,अध्यक्ष घिमिरेले उद्योगीले उठान गरेका मागका विषयलाई आफूले गम्भीर रुपमा लिएको र आपसी छलफल र सहमतिबाटै यस विषयको हल खोजीने जनाए ।
कार्यक्रममा नेपाल एलपि ग्यास उद्योग संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार हरि प्रसाद पाठकले संघ दर्तामा आफूले भोगेका दुख र संघर्षका विषयमा आफ्नो धारणा राखेका थिए ।
यस अवसरमा संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले यस क्षेत्रमा थुप्रै समस्याहरु रहेको र ति समस्या हल गर्न सबै उद्यमीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले व्यवसायीका माग प्रति सरकारी निकाय उदासिन बनेको बताए ।
‘रेट रिभाइज देखि थुप्रै विषयमा समाधान खोज्नुपर्ने अवस्था छ त्यसका लागि एक भएर अगाडी बढ्नुको विकल्प छैन’, भण्डारीले भने ।
उनले एलपि ग्यासको विकास र विस्तारमा पशुपति शम्शेर जबरा, गुण चन्द्र विष्ट लगाएतको भूमीका उच्च रहेको बताए ।
कार्यक्रममा उद्योगी राजेन्द्र काव्राले ग्यासको बाह्यि ढुवानीमा लगाइएको टीडीएसको विषय गम्भीर भएकाले यसलाई तत्काल हल गर्न संघको ध्यानाकर्ष गराएका थिए ।
यस्तै, शंकर श्रेष्ठ र अमित अग्रवाल लगाएतका उद्योगीहरुले संघले एलपि ग्यासमा पुर्याएको योगदानको चर्चा गरेका थिए । यो अवसरमा उद्योगी व्यवसायीहरुले एलपि ग्यासका क्षेत्रमा भोगिरहेका समस्या र चुनौतिका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा देशभर छरिएर रहेका झण्डै ५६ उद्योगका संचालक एवं प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो ।
प्रतिक्रिया