Logo

Banner-news

भ्रमण वर्षको प्रवर्द्धनमा निजी क्षेत्र अगाडिः ललितपुरमा २२ सय जनाले गरे वाकाथान


GDP Nepal
   ४ आश्विन २०७६, शनिबार


ललितपुर । सरकारले नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा गम्भीरता नदेखाएको टिप्पणी भइरहेका बेला निजी क्षेत्रको अग्रसरतामा शनिबार काठमाडौंमा भव्य कार्यक्रम सम्पन्न भएको छ । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि शनिबार वाकाथन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार वाकाथनमा २२ सयभन्दा बढीले सहभागिता जनाएका छन् । वाकाथनको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए । वाकाथनमा प्रतिनिधिसभा सदस्य पम्फा भुसाल, प्रदेशसभा सदस्य शोभा शाक्य, ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कलाकार हरिवंश आचार्यलगायत सहभागी थिए ।

वाकाथनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रदेश ३ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका कार्यकारिणी समिति सदस्यहरु मनिषलाल प्रधान, सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरु अजरमान श्रेष्ठ, सविन श्रेष्ठलगायत सहभागी थिए ।

ललितपुरका विभिन्न सम्पदास्थल समेट्दै आयोजना गरिएको वाकाथन १३ किलोमिटर लामो थियो भने ठाउँठाउँमा स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए ।

संघका अध्यक्ष महर्जनका अनुसार मंगलबजारबाट सुरु भएको वाकाथन सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंगमति हुँदै खोकना गएर समापन भयो । ललितपुरका सबैजसो सम्पदास्थल समेटिएको वाकाथनमा स्थानीय कला संस्कृतिसहित स्वागतसत्कारका कार्यक्रम तथा नेवारी परिकारसहितको दिवा भोज आयोजना गरिएको थियो ।
अध्यक्ष महर्जनका अनुसार २ हजार जनाको सहभागिता रहने अपेक्षा गरिए पनि नेपाल भ्रमण वर्ष तथा सम्पदा संरक्षणमा स्थानीयको जागरुकताका कारण अपेक्षाभन्दा बढी सहभागी भएका छन् ।

वाकाथनका लागि कुमारी बैंकसँग सहकार्य गरिएको थियो भने संघले वाकाथनको दर्ता शुल्क ५ सय रुपैयाँ निर्धारण गरेको थियो ।

कार्यक्रमबाट प्राप्त आम्दानी पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च हुने जनाएको छ । नेवारहरुको इष्ट देवताका रुपमा रहेको भीमसेन मन्दिर २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

भीमसेन मन्दिर पुनर्निर्माणको लागत ४ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ भने ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा यसको पुनर्निर्माण भइरहेको छ । संघका अध्यक्ष महर्जनका अनुसार संघले आफैं १० लाख रुपैयाँ सिड मनी राखेर सुरु गरेको चन्दा संकलन अभियानमा ललितपुर महानगरपालिका, प्रदेश ३ सरकार, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतले सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित : ४ आश्विन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह