Logo

बैंक / बिमा /शेयर

पुस मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा २७ अर्ब ४३ करोड, ४.६२ प्रतिशतले घट्यो !


gdpnepal
   ७ माघ २०८१, सोमबार


काठमाडौं । मुलुकका वाणिज्य बैंकहरुको नाफा घटेको छ । चालू आर्थिक वर्ष (२०८१८२)को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले जम्मा २७ अर्ब ४३ करोड नाफा कमाएका छन् ।

नाफा परिमाण उच्च देखिए पनि गत आवको सोही अवधिको तुलनामा यो ४.६२ प्रतिशतले कम हो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घट्न पुगेको जनाइएको छ । यद्यपि, यस अवधिमा ११ बैंकहरुको नाफा भने बढेको छ ।

दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक प्रभु बैंक रहेको छ । यस बैंकको खुद नाफा समीक्षा अवधिमा ८५.४९ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ५७ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बंकको साढे ४९ प्रतिशत र एनएमबि बैंकको साढे ४५ प्रतिशत बढेको छ ।

एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा सबैभन्दा बढी ९२.०३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

यसअवधिमा कुमारी बैंकको खुद नाफा ६८ प्रतिशतभन्दा बढी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतभन्दा बढी घटेको छ।

कूल २० बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नबिलले पुस मसान्तसम्ममा ३ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत मात्र बढी हो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ ।

६ महिनासम्ममा ११ बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। जसमध्ये दुई बैंकहरुले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । बाँकी ६ बैंकहरुको नाफा भने १ अर्बभन्दा बढी रहेको छ ।

प्रकाशित : ७ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह