ढल्केबर (धनुषा) । महोत्तरीको भिठामोड भन्सार र जनकपुर–जयनगर रेल्वे भन्सारको यथाशीघ्र स्तरोन्नति हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मधेश प्रदेश उद्योग परिसंघले शनिवार जलेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले भन्सारहरुको स्तरोन्नतिमा जोड दिएका हुन् ।
यी दुई भन्सारको स्तरोन्नतिले मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर र सिन्धुलीका उद्योगी, व्यवसायी लाभान्वित हुने उनीहरुको भनाइ छ । अहिले भिठामोड र जनकपुर–जयनगर रेलवे भन्सारबाट औद्योगिक कच्चा पदार्थ आयात गर्न नमिल्ने हुँदा वीरगन्ज–रक्सौल वा विराटनगर–जोगवनी नाकाबाट आयात गर्नुपर्ने बाध्यता रहेको सम्बद्ध व्यवसायीको गुनासो रहेको छ । वीरगन्ज र विराटनगर नाकाबाट सामान आयात गर्दा ढुवानी लागत बढी हुने र समय पनि धेरै लाग्ने भएकाले यस क्षेत्रका उद्यमी, व्यवसायीलाई मर्का परेको कार्यक्रममा सहभागीले बताए । उनीहरुले यी दुवैभन्सारलाई चाँडोभन्दा चाँडो स्तरोन्नति गरी औद्योगिक कच्चा पदार्थ समेत आयात गर्न मिल्ने बनाउन माग गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेशको विकासले समग्र देशको विकासमा टेवा पुग्ने तथा मधेशको विकासका लागि र यस क्षेत्रका उद्योगीको सहजताका लागि सदनमा यो समस्या उठाउने बताए । उनले यी दुवै नाकामा रहेका भन्सारको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयमा पहल गरी कार्यान्वयन गराउने प्रतिबद्धता पनि व्यक्त गरे । यसो हुन सके मधेशका उद्योगहरुको लागत न्यूनीकरणमा योगदान हुने सहभागीहरुको अपेक्षा छ ।
ढल्केबरको कोमल होटलमा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नरेश दास विशिष्ट अतिथिका रुपमा सहभागी थिए । मधेश प्रदेश उद्योग परिसंघका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका मध्य भागका उद्योगीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यकम सञ्चालन संस्थाका कार्यकारी निर्देशक दिपक लामाले र समापन अध्यक्ष साहले गरेका थिए ।









प्रतिक्रिया