Logo

Banner-news

महासंघ चुनावः दुवै पक्षको तानातानमा दिनेश श्रेष्ठ !


GDP Nepal
   ६ पुस २०७६, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २७ गते हुने साधारणसभा तथा निर्वाचनका लागि व्यवसायीहरुबीच ध्रुवीकरण जारी छ । महासंघको आसन्न साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्षमा निर्वाचित हुने भए पनि बाँकी पदका लागि रस्साकस्सी जारी छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि साविकको कार्यसमितिका दुई उपाध्यक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि गोल्छासँगै वरिष्ठ उपाध्यक्षमा पराजीत भए पनि पछि जिल्ला नगर उपाध्यक्ष भएका किशोर प्रधान र अघिल्लोपटक निर्विरोध रुपमा एशोसिएट उपाध्यक्ष निर्वाचित चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन् ।

ढकाल र प्रधानमध्ये जसले वरिष्ठ उपाध्यक्ष जित्छ, ऊ नै महासंघको २० औं अध्यक्ष हुनेछ । महासंघमा कार्यकाल तीन वर्ष हुने कि दुई वर्षमा झार्ने भन्ने बहसमा सबैजसो दुई वर्षकै पक्षमा रहेकाले चैतमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेले २०७८ सालमै अध्यक्षको माला लगाउनसक्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।
व्यवसायीको निर्वाचन भए पनि राजनीतिक पार्टीको जत्तिकै चासो र चर्चा छ । यस वर्ष महासंघ निर्वाचनको केन्द्रमा छन्– दिनेश श्रेष्ठ । अघिल्लो निर्वाचनमा गोल्छा समूहबाटै उपाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजीत भए पनि श्रेष्ठ सिनबाट कहिल्यै हराएनन् ।

श्रेष्ठले यसबीचमा महासंघको संघीय अवधारणाअनुसार प्रदेश ३ उद्योग वाणिज्य संघ स्थापना गरेर नेतृत्व लिए भने नेपाल चेम्बर अफ कमर्सले महासंघको साथ छाडेपछि काठमाडौं जिल्लामा महासंघको रिक्तता पूरा गर्न उद्योग वाणिज्य संघ, काठमाडौं पनि स्थापना गरेका छन् ।

महासंघभित्र भन्सार, कर तथा अन्य कानुनी विषयमा सबैभन्दा बढी जानकार, अध्ययनशील एवं तर्कशील मानिएका श्रेष्ठ महासंघलाई पूर्णकालिन समय दिनसक्ने व्यवसायी पनि मानिन्छन् ।

यतिमात्र नभइ महासंघमा गैरव्यवसायी वा पूर्वव्यवसायीहरु हावी भइरहेका बेला उनको उपस्थिति भने रणनीतिक रुपमा महत्वपूर्ण देखिन्छ । साना मझौला उद्योगदेखि सबैजसो वस्तुगत संघ संगठनले परिपक्व अभिभावकका रुपमा लिने यीनै श्रेष्ठलाई आफ्नो टीममा पार्न प्रधान र ढकाल दुवै समूह प्रयासरत छ ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाललाई पूर्वअध्यक्ष चण्डिराज ढकाललगायतको समर्थन छ भने प्रधानले आफूलाई निवर्तमान अध्यक्ष पशुपति मुरारका, अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको समर्थन रहेको दावी गर्दै आए पनि मुरारका, राणा र गोल्छा तीनैजनाले यसमा औपचारिक रुपमा मुख खोलेका छैनन् ।

विगतमा अध्यक्षमा सुनिश्चित भइसक्दा पनि राणाले शेखर गोल्छा समूहको चुनावी घोषणसभामा भाग लिँदा आलोचना बेहोरेकी थिइन् भने कतिपयले गोल्छाले राणाकै गल्ती नदोहोर्याउने अपेक्षा गरेका छन् । त्यसो त मुरारकाले पनि प्रधानलाई यसअघि कहिल्यै नरुचाउने भएकाले प्रधानको दावीमा सत्यता नरहेको जानकारहरु बताउँछन् ।

दिनेश श्रेष्ठलाई आफ्नो टिममा ल्याउने प्रयास कसको सफल हुने हो यसै भन्न नसकिए पनि श्रेष्ठ निकटहरुले भने उनी चन्द्र ढकाल समूहबाटै जिल्लानगर उपाध्यक्षको उम्मेदवार हुनसक्ने संकेत गरेका छन् । जिल्लानगर समूहमा पूर्वअध्यक्ष ढकाल निकै शक्तिशाली रहेकाले पनि श्रेष्ठ ढकाल समूहप्रति बढी सफ्ट देखिएका हुन् ।

प्रकाशित : ६ पुस २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह