Logo

Banner-news

भ्रमण वर्षको उद्घाटनमै झट्का, धेरै विदेशी पाहुना आएनन् !


GDP Nepal
   १५ पुस २०७६, मंगलबार


काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहलाई भव्य रुपमा मनाउने भने पनि पूर्व योजनाअनुसार विदेशी पाहुना ल्याउन भने असफल देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरे पनि हालसम्म केही मन्त्रीमात्रै आइपुगेका छन् । ।

भोलि बुधबार अर्थात जनवरी १ का दिन काठमाडौंको दशरथ रंशालामा हुने औपचारिक समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमण वर्ष सचिवालका राष्ट्रिय संयोजक सुरज वैद्यले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रिय अभियानमा सबैको साथ सहयोग सहित २० लाख पर्यटक भित्र्याउने अभियानमा होमिन आग्रह गरे । संघीय सरकारले काठमाडौंको दशरथ रंगशालामा र प्रदेश सरकारले विभिन्न सहरमा भव्यताका साथ नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गर्न लागेको उनले बताए ।

कार्यक्रमअनुसार प्रदेश नं १ मा विराटनगरको रंगशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकुरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हँुदैछ । यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ ।

काठमाडौंसहित सबै सहरमा विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाउने योजना छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेकाले भ्रमण वर्ष सार्थक र सफल हुने बताए ।

भट्टराईले भ्रमण वर्ष सफल बनाउने सन्दर्भमा मुलुकभित्र राष्ट्रिय एकता बनेको बताए । आफू मन्त्री भएयता करिब एक सय संघसंस्थासँग भ्रमण वर्षको सन्दर्भलाई लिएर छलफल गरिएको बताउँदै उनले अर्थतन्त्रको मुल आधार पर्यटन बनाउने सरकारको लक्ष्यमा यस अभियानले सहयोग गर्ने उल्लेख गरे । उनले नेपालको पर्यटनको ब्राण्डिङमा यस अभियानले सहयोग गर्ने दावी गरे ।

मन्त्री भट्टराईले देशभर दीपावली गरेर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन सवै देशवासीमा आह्वान समेत गरेका छन् ।

प्रकाशित : १५ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह