Logo

Banner-news

स्ट्रेन्थअनुसार सिमेन्टको गुणस्तर तोकियो, प्रोजेक्टमा आयात रोकिएला ?


GDP Nepal
   ६ माघ २०७६, सोमबार


काठमाडौं । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन भइरहे पनि सरकारले मापदण्ड निर्धारण र स्वीकृत नगर्दा ठूला परियोजनाहरुले भारतबाट सिमेन्ट आयात गरिरहेका थिए । नेपाली बजारमा सामान्य निर्माणका लागि ३३ ग्रेडका सिमेन्टको गुणस्तरमात्र आधिकारिक रुपमा प्रमाणित भए पनि ४३ र ५३ ग्रेडका उत्पादनको वैधता थिएन ।

४३ ग्रेडको ओपीसी सिमेन्ट सामान्यतया व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ भने ५३ ग्रेडका सिमेन्ट भने पुल, ठूला बिल्डिङ र जलविद्युत् आयोजनामा बढी प्रयोग गर्ने गरिन्छ ।

सरकारले गत शुक्रबार सिमेन्टको गुणस्तरसम्बन्धी लामो विवादको अन्त्य गर्दै नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । गुणस्तर परिषद्को बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गर्ने निर्णय गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार हाल प्रयोजनमा रहेको ३३ ग्रेडको ओपीसी सिमेन्टलाई यथावत राख्दै उच्च गुणस्तरको दुई ग्रेडको सिमेन्टको नेपाल मापदण्ड निर्धारण गरिएको छ ।

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामागत शुक्रबार बसेको परिषद्को १०२औं बैठकले प्राविधिक समितिबाट सिफरिस गुणस्तर अनुमोदन गरेको विभागले जनाएको छ ।

नेपालमा विदेशीले निर्माण गर्ने ठूलो आयोजनाहरुमा यी ग्रेडका सिमेन्टको माग अत्याधिक हुनेको छ । नेपालमा ग्रेड र गुणस्तर नतोकिँदा भारतबाट यस्ताखाले सिमेन्ट आयात हुँदै आएको थियो । अब नेपालमै ‘स्ट्रेन्थ’ बढी भएको सिमेन्टको गुणस्तर निर्धारण भएकाले ठूला आयोजनालाई सहज भएको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले स्वदेशी उद्योग प्रवद्र्धनमा सरकारको निर्णयले सकारात्मक प्रभाव पार्ने बताए । नयाँ गुणस्तर निर्धारणले पाँच वर्षदेखि सरकारलाई गर्दै आएको गुनासोसमेत समाधान भएको उनको भनाइ छ ।


यद्यपि केही कसिला प्रावधान रहेको र खुकुलो बनाउनसके सिमेन्ट उद्योगलाई राहत पुग्ने उनको भनाइ छ । “हाम्रो पाँच वर्षदेखिको माग पूरा भएको छ,” अध्यक्ष थापाले भने । नेपाली सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको गुणस्तरसँग मिल्ने गरी निर्धारण गर्न आफूहरुले माग गरे पनि अहिलेको प्रावधान भारतको भन्दा कसिलो भएको उनको गुनासो छ ।

प्रकाशित : ६ माघ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह