Logo

कर्पोरेट-बजार

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११ औं वार्षिक साधारण सभा सम्पन्न



GDP नेपाल
   ६ जेष्ठ २०८२, सोमबार


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा महासंघका सल्लाहकार, विज्ञ तथा देशभरका व्यवसायी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा विभिन्न निजी क्षेत्रका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राख्दै महासंघको पहलको सराहना गर्नुका साथै आभुषण क्षेत्रको समृद्धिका लागि सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।


सभामा सुनचाँदी तथा आभुषण व्यवसायमा आवश्यक पर्ने कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानूनी व्यवस्था” नामक पुस्तकको लोकार्पण गरिएको थियो ।


कार्यक्रममा महासंघ प्रति विशेष योगदान पुर्‍याउने कर्मचारी तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष किसान सुनारले कार्यक्रममा संवोधन गर्दै, वर्तमान आभुषण व्यवसाय क्षेत्रको अवस्था, विद्यमान चुनौतीहरु, महासंघले हालसम्म गरेका प्रयासहरु र आगामी दिनमा अगाडि बढाउन लागिएको रणनीतिबारे समग्र रूपमा जानकारी दिएका थिए ।
यसै अवसरमा, महासंघले ११ बुँदे घोषणा–पत्र समेत सार्वजनिक गरेको छ ।

यस्तो छ महासंघले जारी गरेको ११ बुँदे घोषणा–पत्र


१. निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले “सुनचाँदी, गरगहनाको उत्पादन, कारोबार तथा नियमन मापदण्ड सहितको निर्देशिका” अविलम्ब जारी गर्न नेपाल सरकार समक्ष पुनः जोडदार आग्रह गर्ने ।

२. आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नको लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न नेपाल सरकार समक्ष माग गर्ने ।

३. स्वदेशमा सुन, चाँदी, पत्थरका गरगहना निर्यात गर्ने उद्योग व्यवसाय प्रवद्र्धन गरी युवाहरूको लागि रोजगारी वृद्धि गर्ने । परम्पारगत सीप एवं कला, कौशललाई संरक्षण तथा दक्ष कालिगढहरू तयार गर्न नेपाल सरकारको सहयोगमा सीप विकास स्कूल महासंघले खोल्ने ।

४. नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरुको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकार समक्ष आग्रह गर्ने ।

५. सुनचाँदी आयात तथा विक्री वितरण कार्यविधि– २०६८ संशोधन गरी व्यवहारिक, व्यवसायी मैत्री कार्यविधि जारी गर्न पहल गर्ने । साथै प्रत्येक प्रदेशबाटनै आयातित कच्चा पदार्थको विक्री वितरण कार्य संचालन गरी व्यवसायीहरुले सुपथ, सरल र सहज तरीकाले खरीद गर्न पाउने अवस्था निर्माण गर्ने ।

६. गरगहनाको गुणस्तर मापन गर्ने विद्यमान पद्दति त्रुटीपूर्ण रहेकोले यस्तो संयन्त्रबाट परिक्षण गरिएको आधारमा व्यवसायीहरुलाई कानूनी कारबाही गर्नु अन्यायपूर्ण भएकोले संपूर्ण जिल्लाहरुमा गुणस्तर परीक्षण केन्द्र स्थापना गरी आम उपभोक्ता एवं गरगहना व्यवसायीहरुले सर्वसुलभ तरिकाले गुणस्तर परिक्षण गर्न सक्ने गरि गुणस्तरयुक्त आधुनिक मेसिन उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्ने ।

७. आर्थिक ऐन–२०८१ मा भएको व्यवस्थालाई महासंघले दिएको सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने ।

८. सुनचाँदी गरगहना स्वदेशी उत्पादन तथा निर्यात व्यवसायलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने।

९. सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४मा अव्यवाहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्ने।

१०. आभुषण व्यवसायलाई वृहत उद्यमको रुपमा स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।

११. व्यवसायी मैत्री कानुन निर्माण तथा अव्यवहारिक कानुन संशोधनका लागी पहल गर्ने । राज्य वाट न्यायोचित माग सम्वोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह