Logo

कर्पोरेट-बजार

मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टरको अवलोकन, सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता


GDP नेपाल
   २५ मंसिर २०८२, बुधबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकार वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार ललितपुरको नख्खुस्थित एनसेलको ‘इन्टिग्रेटेड डाटा सेन्टर’ अवलोकन गर्दै मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिकाको प्रशंसा गरे।

अवलोकनका क्रममा मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले स्वागत गर्दै कम्पनीको अवस्थाबारे जानकारी गराएका थिए।

भेटका क्रममा एनसेलका पदाधिकारीले पछिल्लो ‘जेन जी आन्दोलन’का कारण कम्पनीलाई ठूलो नोक्सानी भएको जानकारी गराए।

उक्त आन्दोलनका कारण एनसेलको मुख्य कार्यालयसहितका संरचनामा गरी करिब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। मन्त्री खरेलले उक्त क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार एनसेलको साथमा रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

साथै, मन्त्री खरेलले एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न र ग्रामीण भेगका जनतालाई सस्तो दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन सुझाव दिएका छन्।

सोही अवसरमा एनसेलका सीईओ माइकल फोलेले विद्यार्थीहरूका लागि नयाँ योजनाको घोषणा गरे। कम्पनीले देशभरबाट एसईई परीक्षा दिने १०० जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। यसका लागि १ करोड रुपैयाँको कोष खडा गरिने फोलेले बताए।

त्यस्तै, विद्यार्थीहरूको सञ्चार आवश्यकता पूरा गर्न कम्पनीले चाँडै ‘जेन जी प्याक’ ल्याउने तयारी गरेको जानकारी दिइएको छ।

एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क गरी करिब ३६० अर्ब रुपैयाँ सरकारलाई बुझाएको र प्रत्यक्षरअप्रत्यक्ष रूपमा १ लाख रोजगारी सिर्जना गरेको जनाएको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

प्रकाशित : २५ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह