काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादूर चन्दले ग्यास उद्योग क्षेत्रले भोगेको समस्या र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि संघको तर्फबाट निर्वतमान अध्यक्ष शिव प्रसाद घिमिरेलाई पठाउने निर्णय भएको जानकारी दिँदै उनले वार्षिकोत्सव समारोहमा सहभागी सम्पूर्ण वस्तुगतका अध्यक्ष एवं प्रतिनिधिलाई निर्वाचनमा सहयोग गर्न अपिल समेत गरे ।
साथै, नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । उनले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनका लागि आयल निगम प्रयासरत रहेको उल्लेख गरे ।
सो अवसरमा नेपाल एलपी ग्यास उद्योग सङ्घका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयतका लागि पाइपलाइन विस्तार गर्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया