Logo

विकास / पूर्वाधार

माथिल्लो त्रिशूली–१ आयोजनाबाट प्रभावितका लागि सीपमूलक तालिम सुरु



GDP नेपाल
   ७ माघ २०८२, मंगलबार


काठमाडौं । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यसहित सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ ।


आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका प्रभावित क्षेत्रका ४० जनालाई तालिम प्रदान गर्न थालिएको हो ।

आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिम कार्यक्रमको मंगलबार कालिका गाउँपालिका वडा नं. १ कार्यालयमा औपचारिक उद्घाटन गरिएको हो ।


आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भावनालाई आधार मानेर २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालनसम्बन्धी तालिम दिइँदैछ । कम्पनीका अनुसार आगामी चरणमा आयोजना प्रभावित अन्य पालिकाका वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत करिब ३७० जना आयोजना प्रभावितलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ ।
तालिम उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका वडा नं.१ का अध्यक्ष दावा तामाङले मागमा आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमले स्थानीय सहभागिता सहज बनाएको बताए । यस किसिमका कार्यक्रमले स्थानीयस्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उनले सहभागीहरूलाई तालिम अवधिभर सक्रिय सहभागिता जनाई प्राप्त सीप व्यवहारमा उतार्न आग्रह गरे ।

कार्यक्रममा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा।लि।का प्रमुख सञ्चालन अधिकृत सङ्घी माले आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रभावित गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराइनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि जस्ता क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको छ ।


सन् २०१८ मा गरिएको माग–आधारित मूल्याङ्कनका आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने तालिम कार्यक्रम तय गरिएको थियो । पछिल्लो अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्याङ्कन तथा स्थानीय माग विश्लेषणका आधारमा हाल ती तालिमहरू परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
प्रारम्भिक बाल विकास सहजकर्ता, मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङलगायतका तालिमहरू समुदायको रुचि र वर्तमान बजार आवश्यकताअनुसार तय गरिएका छन् । यी तालिमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित रहेका छन् ।

सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) बमोजिम नेपाल रोजगार तथा सीपमूलक तालिम योजना तयार गरी सोहीअनुसार आयोजना प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ आयोजना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँधलगायत संरचना तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माणाधीन अवस्थामा छ । आन्तरिक खपतका लागि उत्पादन हुने यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।


आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पौष महिनादेखि सुरु भएको हो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायत संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ भने निर्माण कार्य २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह