Logo

अर्थनीति

चाउचाउका मुख्य प्रतिस्पर्धी ‘मार्केट लिडर’हरु एउटै पार्टीबाट चुनाव लड्दै !


gdpnepal
   ८ माघ २०८२, बुधबार


काठमाडौं । नेपालको नुडल्स बजारमा यतिबेला वाइवाई र करेन्ट चाउचाउबीच तिब्र प्रतिस्पर्धा छ ।

एक दशक अघिसम्म ‘चाउचाउ भनेकै वाइवाई’ भन्ने स्थापित भइसकेको अवस्थामा फरक स्वादसहित भित्रिएको करेन्टले वाइवाईलाई कडा चुनौती दिइरहेको छ ।

पीरो चाउचाउमा नाम कमाएको करेन्टले वाइवाईले जस्तै थुप्रैखाले चाउचाउ निकालिसकेको छ । जसका कारण यी दुई कम्पनीबीच कहिलेकाहिँ प्रतिलिपी अधिकारको मुद्दाले समेत चर्चा पाउने गरेको छ ।

कोरोना महामारीका बेला भएको लकडाउनमा रणनीतिक रुपमा आक्रामक प्रचार गरी स्थापित भएको करेन्टको जस्तै पीरो चाउचाउ वाइवाई लगायत अन्य कम्पनीले पनि नल्याएका होइनन् । तर, ति कमैमात्र चले ।

वाइवाईको स्वाद नेपाली उपभोक्ताको जिब्रोमा बसिसकेको र आफ्नो पुरानो स्वाद यथावत राखेकाले आफ्नो सेग्मेन्टमा भने अहिले पनि वाइवाई मार्केट लिडर हो ।

वाइवाई र करेन्टबीच जतिसुकै प्रतिस्पर्धा भए पनि संयोग के भने, वाइवाई उत्पादक सिजी फुड्सका संस्थापक विनोद चौधरी र करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्माबीच एउटै समानता देखिएको छ ।

चौधरी र शर्मा दुवै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् र दुवैले एउटै पार्टी रोजेका छन्, नेपाली कांग्रेस ।

चौधरी पश्चिम नवलपरासी १ र शर्मा रुपन्देही २ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । दुवै लुम्बिनी प्रदेश र सीमावर्ती जिल्लाबाट प्रतिस्पर्धामा रहेका हुन् ।

चौधरीले यसअघि पनि सो क्षेत्रबाट जीत हासिल गरिसकेका हुन् भने शर्मा पहिलोपटक निर्वाचनमा होमिएका हुन् । चौधरीले गत आम निर्वाचनमा सो क्षेत्रबाट २५ हजार ५१९ मत ल्याएर हृदयेश त्रिपाठीलाई पराजीत गरेका थिए ।

यसपटक चौधरीले कांग्रेस छाडेर रास्वपा गएका विक्रम खनाल, नेकपाका सिन्धु जलेसा, एमालेका रामप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् ।

रुपन्देहीमा शर्माले एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पौडेलले अहिलेसम्म जित हासिल गर्दै आएको यो क्षेत्रमा रास्वपाका सुलभ खरेल, स्वतन्त्र उम्मेदवार निकोलस भुसाल, नेकपामा विश्वदीप पाण्डे लगायत उम्मेदवार रहेका छन् ।

 

प्रकाशित : ८ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह