काठमाडौं । काठमाडौं उपत्यकामा चिसो हट्दै गएको छ ।उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हिजो (बुधबार) भने काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो।
यसैबीच, देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराई भूभागका थोरै स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लागिरहेको छ ।
विभागले राति कोसी र वाग्मती प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लाग्नेछ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।










प्रतिक्रिया