पोखरा । सिटिजन लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२६ (Million Dollar Round Table) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड, पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो।
कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत ६७ जना एमडीआरटी (MDRT), २ जना सिओटी (Court of the Table – COT) तथा १ जना टिओटी (Top of the Table – TOT) क्वालिफायरहरू रहेका थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान गर्नुका साथै आगामी व्यावसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको थियो।
कार्यक्रम अन्तर्गत “The Secret of Progressive Life” विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। यस प्रशिक्षणले सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए।
साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरूले सहभागीहरूलाई सम्बोधन गर्दै उत्साह थप्नुका साथै MDRT क्वालिफायरहरूलाई सम्मान समेत गरेका थिए।
समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरूको समर्पण र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमले व्यवसाय विस्तार र व्यक्तिगत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।










प्रतिक्रिया