Logo

Banner-news

कर घटे पनि इन्धनको मूल्य भारी वृद्धि: पेट्रोल २१९ रुपैयाँ, डिजेल २०७ र ग्यास २०१० पुग्यो


gdpnepal
   २७ चैत्र २०८२, शुक्रबार


काठमाडौं । सरकारले इन्धनमा लाग्दै आएको कर घटाए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । 

निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । 

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन  (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो । 

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण सिर्जित विषम परिस्थितिलाई मनन गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग अनुरोध समेत गरेको छ ।

 

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह