काठमाडौं । घरजग्गा (रियल–स्टेट) कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ ।
कारोबार सङ्ख्याका आधारमा मधेशपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ ।
कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।
जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ ।
घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उपमहानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।
केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र यस बैंकले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गरिने केन्द्रीय बैंकले जजनाएको छ ।
रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा गरिएको छ । रियल–स्टेट कारोबारको सङ्ख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको जनाइएको छ ।
रियल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ । साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरिएको छ ।
त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रयमासमा न्यून र तेस्रो तथा चौथो त्रयमासमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ ।
घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ ।
घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रयमासमा ८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब रु.१५ अर्बसम्म पुगेको छ ।
रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्याङ्कबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ । उपर्युक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत यस बैंकले गरिरहेको छ । उक्त प्रतिवेदन देहायको वेबलिङ्कमा उपलब्ध छ ।










प्रतिक्रिया