Logo

Banner-news

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै, ८ देखि ११ बजेसम्म सञ्चालन


gdpnepal
   २८ चैत्र २०८२, शनिबार



काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।


सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको पाइएको छ। सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ।


दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ।

त्यस्तै, बुढानीलकण्ठबाट फर्किने बस महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल पुग्नेछ।


पूर्व–पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछ।

फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।


रात्रिकालीन सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बसेको बैठकले आवश्यक समन्वय गरेको हो।

बैठकमा चिरीबाबु महर्जन, धनश्याम गिरी लगायत सरोकारवालाको सहभागिता रहेको थियो।


यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने काठमाडौं महानगरपालिका ले प्रत्येक बसमा एक जना नगर प्रहरी खटाउने जनाएको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार प्रारम्भिक ३ महिना सेवा सञ्चालनपछि यसको प्रभाव मूल्याङ्कन गरी थप सुधार र विस्तार गरिनेछ। रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित : २८ चैत्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह