काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन् ।
बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका ल्याउँदा ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । जेनजी आन्दोलन पश्चात नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत प्राथमिकता दिएर समाचारहरु सम्प्रेषण गरिरहेका छन् । सोहि प्राथमिकताको केन्द्रमा छन प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेद्वार बालेन ।
बेलायती समाचार एजेन्सी रोयर्टसले ‘नयाँ शैलीको चुनावी अभियानः बालेन शाहलाई सत्ताको नजिक पु¥याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी’ शिर्षकमा समाचार छापेको छ । रास्वपाको चुनावी शैली र बालेनको जितलाई रोयर्टसले पारम्परिक राजनीतिमाथि चुनौतीका रुपमा विश्लेषण गरेको छ ।
युवा केन्द्रित रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग र विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगका कारण यो अभियानले देशभर चर्चा पाएको उल्लेख छ । रोयर्टसका अनुसार रास्वपाको चुनावी अभियानको केन्द्रमा ‘रिसर्च, स्ट्राटेजी एण्ड डकुमेन्टेशन विभाग’ रहेको थियो । ११ सदस्यीय बोर्डले सञ्चालन गर्ने यस विभागअन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर काम गरिरहेका थिए । उनीहरूले चुनावी रणनीति बनाउने, सभा–याली आयोजना गर्ने, अनलाइन सामग्री तयार पार्ने र देशभरबाट आउने प्रतिक्रिया संकलन गर्ने काम गरेका थिए ।
‘शाहले चुनावी अभियानका क्रममा प्रत्येक आठ दिनमा एउटा मुख्य सम्बोधन गर्ने रणनीति अपनाएका थिए । यसले एउटा भाषणलाई सामाजिक सञ्जालमा फैलिन पर्याप्त समय मिल्ने भएकाले सन्देश स्पष्ट र प्रभावकारी बनेको पार्टीका एक अधिकारीले बताएका छन,‘ रोयर्टसले लेखेको छ । ‘पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले ती भाषण र कार्यक्रमहरूलाई देशभर फैलाउने काम गरेको थियो ।’
बीबीसी विश्वसेवाले भने बालेनलाई राजनेताको रुपमा चित्रण गरेको छ । ओलीसँगको जितपछि बीबीसीले ‘¥यापर–राजनेता बालेन्द्र शाह नेपालका आगामी प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढ्दै’ शिर्षकमा समाचारमा मुख्य समाचार लेखेको छ । बालेनले चुनावी अभियानका क्रममा गाडिको सनरुफबाट माथि निस्केर आफ्ना समर्थकहरुसँग हात मिलाएको फोटो समेत छाप्दै यसपटकको निर्वाचनले नेपालको राजनीतिक दिशामै ठूलो परिवर्तन ल्याएको उल्लेख गरेको छ ।
सामान्यतया सञ्चारमाध्यमबाट टाढा रहने बालेन शाहले चुनावी अभियानका क्रममा फाइनान्सियल टाइम्ससँग,‘म सम्पूर्ण नेपालका लागि उम्मेदवार हुँ ।’ भनेर कुनै एक निर्वाचन क्षेत्र भन्दापनि सम्पूर्ण नेपालको प्रतिनिधित्व लिन खोजेको बीबीसीले बताएको छ । यसपटकको निर्वाचनले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने सम्भावना बढाएको बारेमा बीबीसीले इंगित गरेको छ ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले केपी शर्मा ओलीलाई आफ्नै क्षेत्रमा पराजित गर्दै बालेन शाह विजयी, नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारी शिर्षकमा समाचार छापेको छ । गत बिहीबार सम्पन्न निर्वाचन र त्यसपछिका परिणामलाई रोयर्टसले पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाक्रमका रुपमा विश्लेषण गरेको छ ।
भारतको समाचार एजेन्सी एएनआईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जितको अवसरमा बालेन शाहलाई बधाई दिएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । ओलीसँगको ठूलो मतान्तरसहितको जितसँगै बालेन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रवेश गरेको उल्लेख गर्दै शाह अब प्रधानमन्त्री बन्ने लगभग सुनिश्चित भएको एएनआईले लेखेको छ ।
रास्वपाका नेताहरूले बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरेको उल्लेख गरिएको छ । -याप गायकबाट राजनीतिमा प्रवेश गरेका उनी युवामुखी नेतृत्व, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका कारण उनले देशभर ठूलो समर्थन पाएको र उनको यो जित नेपाली राजनीतिमा नयाँ पुस्ताको उदयको संकेतका रूपमा हेरिएको एएनआईले लेखेको छ ।
यस्तै, एशोसियट प्रेस (एपी) ले बालेन शाहको उदयलालई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रुपमा चित्रण गरेको छ । ओलीभन्दा झण्डै चार गुणा बढी मत प्राप्त गर्दै ठूलो अन्तरले विजय हासिल गरेका शाहको उदय परम्परागत राजनीतिक दलप्रति बढ्दो जनआक्रोशको लहरका रुपमा समेत व्याख्या गरेको छ ।










प्रतिक्रिया