Logo

कर्पोरेट-बजार

भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी


GDP नेपाल
   ११ चैत्र २०८२, बुधबार


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।

यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ । विभागले २०६५ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा यात्रुवाहकतर्फ ११।३३ प्रतिशत, तराई मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सिफारिस गरेको जनाएको छ ।

महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले सरकारबाट छिटो निर्णय नआए सेवा बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । उनले विभागको सिफारिसअनुसार स्वघोषणा गरी भाडा समायोजन गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत खुला राखिएको बताए ।

महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने चेतावनी दिएको छ ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह