काठमाडौं । होटल संघ नेपालको आयोजना तथा यूके नेपाल–नेपाल इन बिजनेसको सहकार्यमा पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस (१५ अप्रिल २०२६) सम्पन्न भयो ।
होटल संघ नेपालका सदस्य प्रतिष्ठानका प्रतिष्ठित होटल व्यवसायी, वेलनेस विशेषज्ञ, निजी क्षेत्रका प्रतिनिधि, शैक्षिक क्षेत्र र विकास साझेदारहरू सहभागी भई पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाएको संघले विज्ञप्तिमार्फत जनकारी गराएको हो ।
कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले स्वागत मन्तव्य राख्दै यस ऐतिहासिक अवसरले नेपाललाई विश्वव्यापी वेलनेस क्षेत्रमा स्थापित गर्न मद्दत गर्ने बताए ।
यसै वर्ष संयुक्त राष्ट्रसंघले नेपाल सरकारको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा घोषणा गरेको हो । साथै, नवगठित मन्त्रिपरिषद्को १०० दिने शासकीय प्रतिबद्धतामा पनि वेलनेस पर्यटनलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
कार्यक्रममा होटल संघ नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल इन बिजनेसद्वारा निर्माण गरिएको वेलनेस पर्यटन प्रवद्र्धन भिडियो सार्वजनिक गरियो, जसले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि उत्कृष्ट वेलनेस गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
नेपाल इन बिजनेसका टिम लिडर रतिश बस्न्यातले वेलनेस पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउन नेपाल इन बिजनेस र पर्यटन मन्त्रालयबीच भएको सहकार्यबारे प्रकाश पारे । उनले राष्ट्रिय वेलनेस पर्यटन रणनीति निर्माणमा नेपाल इन बिजनेसको योगदानबारे जानकारी दिँदै उक्त रणनीति हाल सरकारी स्वीकृतिको प्रक्रियामा रहेको बताए ।
नेपालका वेलनेस सम्भावनाबारे चर्चा गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नवप्रवर्तनमार्फत विविध वेलनेस प्याकेजहरू विकास गर्नुपर्ने र मौलिकता तथा फरकपनसहित बजारमा प्रस्तुत गर्नुपर्ने बताए । “वेलनेस पर्यटनको पारिस्थितिकी तन्त्र विकास गर्न हामीले चार कुरामा ध्यान दिनुपर्छः लगानी, सीप विकास, प्रमाणीकरण र ब्रान्डिङ,” उनले भने ।
होटल संघ नेपालका कार्यसमिति सदस्य अश्लेषा कार्कीले नेपालले वेलनेस पर्यटनलाई मुख्य पर्यटन उत्पादनको रूपमा विकास गर्ने ठूलो सम्भावना रहेको बताइन् । साथै, सरकार, निजी क्षेत्र, संघसंस्था र लगानीकर्ताहरूबीच साझा जिम्मेवारी आवश्यक रहेको उनले जोड दिइन् ।
प्यानल छलफलमा आयुर्वेद संघ नेपालका डा. रमेश पौडेलले दक्ष जनशक्तिको अभाव वेलनेस क्षेत्रको दीर्घकालीन विकासका लागि चुनौती भएको बताए । नाट्टाकी प्रतिनिधि युविका भण्डारीले ‘शून्य बजेट अवधारणा’ को पक्षमा वकालत गर्दै साना सुधारहरूमा केन्द्रित हुनुपर्ने बताइन् । काव्य रिसोर्ट एण्ड स्पाका डा. रवि शिखावतले “सबै कुरा वेलनेस हुनुपर्छ” भन्दै समग्र र अनुभवमूलक सेवाको आवश्यकता औंल्याए । प्यानल छलफलको अध्यक्षता पर्यटन विभागका महानिर्देशक तथा सहसचिव श्री रामकृष्ण लामिछानेले गरेका थिए ।
समापन मन्तव्य दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले वेलनेस पर्यटन प्रवद्र्धन सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले राष्ट्रिय वेलनेस पर्यटन रणनीतिले कार्यक्रमका क्रममा उठाइएका विशेष गरी मापदण्ड र प्रमाणीकरण सम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्ने उल्लेख गरिन् । साथै, हालै घोषणा गरिएको ‘वेलनेस वर्ष २०२७’ को तयारी गर्न सबैलाई आग्रह गरिन् ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसलाई वार्षिक रूपमा निरन्तरता दिने लक्ष्य राखिएको छ, जसले वेलनेस क्षेत्रमा सहकार्य, नवप्रवर्तन र सचेतना अभिवृद्धि गर्दै समग्र स्वास्थ्य र समृद्धिलाई प्रवद्र्धन गर्नेछ ।










प्रतिक्रिया