Logo

बिजनेस होम

प्रधानमन्त्रीसँगै चीन गएका व्यवसायी आक्रोशित, भन्छन्–चिनियाँ पक्षले अपमान गर्यो


appharu
   ११ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका व्यवसायीहरु चिनियाँ पक्षले आफूहरुलाई अवमूल्यन गरेको भन्दै आक्रोशित भएका छन् ।

भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल पश्मिना उद्योग संघ तथा नाडा अटोमोबाइल एसोसिएसनका प्रतिनिधि सहभागी थिए ।

चिनियाँ पक्षले महासंघ, परिसंघ र चेम्बर तीनवटै संस्था समेतलाई रिकग्नाइज नगरेको भ्रमण टोलीमा सहभागी महासंघका एक पदाधिकारीले बताए । उनका अनुसार चिनियाँ व्यवसायीको कार्यक्रममा समेत महासंघका प्रतिनिधिलाई बोल्न दिइएन ।

“सीसीपीआईटीको कार्यक्रममा हामी निजी क्षेत्रको प्रतिनिधिलाई बोल्न नदिएर अपमान गरियो,” ति पदाधिकारीले भने, “हामीलाई उनीहरुले निजी क्षेत्रका प्रतिनिधि होइन, प्रधानमन्त्रीको पछि लागेर आएका आसेपासे हुन् भनेजस्तो व्यवहार गरे । यसबाट सिंगो निजी क्षेत्र स्तब्ध भएको छ ।”

प्रधानमन्त्रीको चीन भ्रमणमा ५२ जना व्यवसायीको नाम लिष्टमा थियो । कतिपय व्यवसायी प्रधानमन्त्रीसँगै हिमालय एयरलाइन्सको जहाजमा आफैं भाडा तिरेर त कतिपयले चीनबाटै सहभागिता जनाएका थिए ।

भ्रमणमा सहभागी एक व्यावसायिक संगठनका उपल्लो तहका नेताले चिनियाँ पक्षको हेपाहा व्यवहारका कारण भ्रमण अवधिभर आफू कुनै पनि कार्यक्रममा फ्रन्टलाइनमा नदेखिएको जानकारी दिए । प्रधानमन्त्रीकै भ्रमण भएकाले मात्र आफूहरु सहभागी भएको भन्दै उनले चिनियाँ पक्षको नेपाली व्यवसायीलाई हेर्ने दृष्टिकोण बदलिँदै गएकाले आगामी दिनमा नेपाली व्यवसायीले पनि गम्भीर भएर सोच्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीसँगै गएका महासंघ अध्यक्ष भवानी राणालगायत केही हाइड्रो र पश्मिना व्यवसायीले पनि द्विपक्षीय लगानी सम्झौता गरेका छन् । तर, उक्त सम्झौतामा नेपालका निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व नभइ व्यक्तिगत पहलमात्र भएको ति व्यवसायीहरु बताउँछन् ।

विगतमा नेपाली व्यवसायीसँग लामो समयदेखि सहकार्य गर्दै आएको चाइना काउन्सिल फर द प्रमोसन इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)ले नेपाली पक्षलाई चोट पुग्नेगरी अवहेलना गरेको र यो विषय निजी क्षेत्रको आगामी भेला र वैठकमा जोडदार साथ उठाउने व्यवसायीहरुले जनाएका छन् ।

महासंघका अनुसार प्रतिनिधिमण्डलमा अध्यक्ष राणा सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समिति सदस्यहरू ज्योत्सना श्रेष्ठ र प्रवलजंग पाण्डे, कृष्ण दुलाल, स्वतन्त्र उर्जा उत्पादक संघ(इप्पान) अध्यक्ष शैलेन्द्र गुरागाई, पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा सहभागी थिए ।

प्रकाशित : ११ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह