Logo

Uncategorized

माथिल्लो तामाकोसीको सेयर आधा पनि नबिक्ने संकेत


appharu
   १८ असार २०७५, सोमबार


काठमाडौं । स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा स्थानीयवासीका लागि छुट्याइएको सेयरमध्ये आधा पनि विक्री नहुने संकेत देखिएको छ ।

मध्य वर्षामा सेयर विक्री खुला भएकाले यो सेयरबाट लक्षित वर्गभन्दा अन्यले नै फाइदा उठाउने हुन् कि भन्ने आशंका बढेको छ । लक्षित वर्ग असारको चटारोमा व्यस्त भइरहँदा उनीहरुमाथि सेयर लगानीका लागि पैसाको जोहो गर्नमात्र नभै सेयर आवेदन फारम बुझाउनसमेत सहज छैन ।

यतिबेला दोलखाका अधिकांश ग्रामीण सडक यातायातका साधन चल्नै नसक्नेगरी भत्किएका छन् । यी सडकमा नियमित सेवा दिने बससमेत नहुँदा ठूलो संख्यामा स्थानीयले सेयर आवेदन नै बुझाउन नसक्ने अवस्था देखिएको स्थानीय बताउँछन् ।

यस्तै, वर्षाकै कारण मुलुकका अन्य क्षेत्रमा रहेकाले पनि सेयरमा सहभागिता जनाउन नसक्ने अवस्था सिर्जना भएको स्थानीय राजनीतिक कार्यकर्ताको चिन्ता छ । उनीहरु भन्छन्– यही अवस्था रहिरहे दोलखावासीका लागि छुट्याइएकोमध्ये आधा पनि सेयर विक्री नहुन सक्छ ।

स्थानीयको नाममा सेयर खरिदका लागि डिम्याट खाता नचाहिने व्यवस्था गरिए पनि यसबाट चिलिमेमा जस्तै दलालहरुले फाइदा उठाउने हुन् कि भन्ने चिन्ता पनि धेरैमा छ ।

असारको अन्तिम साता भएकाले बैंक तथा वित्तीय संस्थाहरु पनि क्लोजिङको समयमा भएकाले पर्याप्त कर्जा प्रवाह गर्न नसकी तरलताको संकट पर्ने अर्को समस्यासमेत देखिन्छ ।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्ब ६४ करोड बराबरको सेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

स्थानीयका लागि असार २४ गतेदेखि साउन ९ गतेसम्म आवदेन बुझाउने मिति तोकिएको छ । दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर भएको छ । आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १२५ छ । जसमा अतिप्रभावित ‘क’ वर्गमा ४ हजार ४३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९९९ र जिल्लाको बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६९४ रहेको छ । आयोजनाको २०७५ जेठ मसान्तसम्म ९६ प्रतिशत काम पूरा भएको छ ।
दोलखावासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् ।

अन्यको हकमा दोलखा जिल्लावासी भएको नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ । तर जिल्लाबाहिर बिहे गरेर गएका चेलीहरूले पनि सेयर पाउन वञ्चित हुने सेयर दिने प्रयोजनका जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५८४ छ ।

जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्दे्शिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।

क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खरिद प्रक्रियामा सबैले न्यूनतम ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्न सक्नेछन् ।

यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीका लागि २ अर्ब ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ ।

कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दूरसञ्चार प्राधिकरण र राष्ट्रिय बिमा संस्थानबाट करिब २० अर्ब रकम ऋण लिएको छ । सर्वसाधारण र स्थानीयको सेयर संकलन नहुँदा नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण थप गरेर ठेकेदारलाई भुक्तानी दिँदै आएको छ ।

प्रकाशित : १८ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह