Logo

राजनीति

प्रवक्ता शर्माको महामन्त्रीमा उम्मेद्वारी घोषणाले कांग्रेसमा तरंग


GDP Nepal
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेसँगै पार्टीभित्र तरंग सिर्जना भएको छ ।

कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा शर्माले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताए ।

युवामाझ निकै लोकप्रिय रहेका शर्मालाई भावी महामन्त्रीका रुपमा हेरिए पनि उनको उम्मेदवारीको औपचारिक घोषणा भएको थिएन । शर्मा पार्टीभित्र समझदार व्यक्तित्वका कारण सर्वस्वीकार्य नेता मानिन्छन् ।

“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ”, शर्माले भने । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बतांए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।

पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताउनुभयो । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उनको भनाइ छ ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालय पुगेर नेता शर्माले उम्मेद्वारी घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा लगत्तै उहाँले बिपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलगायत योद्धाको शालिकमा माल्यार्पण गरे ।

बन्दीगृहमा बीपीले रोपेको कपुरको रुखमा जल सिञ्चन गरी उनले सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका थिए । कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले बीपीको सपना पूरा गर्ने नेतृत्वलाई १४औँ महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाए ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह