Logo

अर्थनीति

उद्योग वाणिज्य महासंघको भेलामा प्रचण्ड, भन्छन्– राज्यकै कारण नेपाली व्यवसायी दुबईमा होटल खोल्न बाध्य


appharu
   २२ श्रावण २०७५, मंगलबार


वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला वीरगन्जमा सुरु भएको छ । भेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।


महासंघले भेलाको उद्घाटनका लागि कुनै सरकारी ओहोदामा नरहेका दाहाललाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुमधुर हुन नसकेको बेला भेलामा दाहाललाई बोलाइएको हो ।

जिल्ला नगर समितिका सभापति किशोरकुमार प्रधान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट मानिन्छन् । उनकै अग्रसरतामा दाहाललाई भेलामा बोलाइएको हो । दाहालसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि भेलालाई सम्बोधन गरेका छन् ।

दाहालले सम्बोधनका क्रममा पटकपटक किशोर प्रधानको नाम लिइरहे । उनले भवानी राणा र चण्डिराज ढकालको पनि नाम लिएका थिए ।

प्रधानमन्त्री ओलीले भने आफ्ना प्रायः सम्बोधनमा उपाध्यक्ष चन्द्र ढकालको नाम लिने गर्दछन् ।

महासंघका अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित उपाध्यक्षहरु प्रधानसहित उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल पनि वीरगन्ज भेलामा पुगेका छन् । यस्तै, पूर्वअध्यक्ष चण्डीराज ढकाल पनि दाहालसँगै मञ्चमा देखिएका छन् ।

भेलालाई सम्बोधन गर्दै दाहालले राज्यले नेपाली व्यवसायीको संरक्षण र निजी क्षेत्रलाई प्रोत्साहन नगर्दा नेपालबाट पुँजी पलायन भएको बताए । “धेरै नेपालीले दुबईमा होटल खोलेका छन्, मध्यपूर्वमा खोलेका छन् र भारतमै पनि लगानी गरेका छन्,” दाहालले भने, “म उहाँहरु खराब हुनुहुन्छ भन्दिनँ, राज्यले नै उहाँहरुलाई संरक्षण गर्न नसक्दाको नतिजा हो यो ।”

दाहालले राष्ट्रिय पुँजीको संरक्षण, परिचालन र प्रवद्र्धनबाटै समाजबाद ल्याउन सकिने धारणा राखे ।
यस्तै, अस्तव्यस्त राजनीतिक अवस्थाका बीचमा आफ्नो सरकारले साढे ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको दावी गरे ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह