Logo

मुख्य समाचार

ओली सरकारका मन्त्री भन्छन्– सरकारले ८ महिनामा इतिहासमै सम्झनलायक काम गरेको छ


appharu
   २६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । सरकारको कामको चौतर्फी आलोचना भइरहँदा एक मन्त्रीले भने सरकारले सरकार गठनको ८ महिनामा इतिहासमै सम्झनलायक काम गरेको दावी गर्छन् ।

सिन्डिकेट अन्त्य कागजमा मात्रै भएको, साढे ३३ किलो सुनकान्डका अभियुक्त पत्ता लगाउन नसकेको, निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त पत्ता लगाउन नसकेको तथा डा. गोविन्द केसीसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आलोचित सरकारका मन्त्रीहरु नै प्रतिरक्षामा उत्रेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केपी ओली नेतृत्वमा सरकार गठन भएको ८ महिनामा इतिहासमै सम्झना हुने कामहरु भएको जिकिर गरेका हुन् ।

राजधानीमा हालै आयोजित एक कार्यक्रममा मन्त्री महासेठले भने– सरकार गठन हुनुपुर्व मुलुकमा एकात्मक शासन प्रणाली थियो । तर, हामी आएपछि संघात्मक प्रणालीमा प्रवेश गरेको छ । यस्तै, स्थानीय, प्रादेशिक र संघीय सरकारलाई आवश्यक कानुनहरु बनाउने काम हामीले गरेका छौं ।

महासेठले ६ महिनामै सबै पूरा नहुने भन्दै भने– चीनलाई पनि अहिलेको यो अवस्थामा आईपुग्न ४२÷४३ वर्ष लाग्यो । साईप्रसलाईपनि अहिलेको अवस्थामा आईपुग्न ३५ देखि ४० वर्षसम्म लाग्यो । मलेसियालाई त्यस्तै १८ देखि २० वर्षसम्म लाग्यो । हामीले पनि घोषणापत्रमा उल्लेख गरेका कुराहरु ५ वर्षभित्र पूरा गरेर देखाउँछौं । अहिले ६ महिनाभित्रै सबै पूरा हुने कुरा होईन् । केही समय लाग्छ ।

मन्त्रीले सपना बाँड्न भने छाडेका छैनन् । भन्छन्– अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाईदिनेछ । जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पना पनि गर्न सक्दैन ।

उनले विकासको दृष्टिकोणमा आफूहरुले धेरै नयाँ–नयाँ योजनाहरु ल्याएकोपनि दाबी गरे । महासेठले भने– विकासको काममा हामीले धेरै फड्को मारेका छौं । १२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको काम हामीले सुरु गरिसकेका छौं । अहिलेसम्म २२ वर्षदेखि बनाउन नसकेको हुलाकी राजमार्ग यो तीन वर्षभित्रमा हामी पूर्ण रुपमा सम्पन्न गर्न गैरहेका छौं ।

त्यस्तै महेन्द्र राजमार्ग बनेकोदेखि अहिलेसम्म जस्ताको त्यस्तै अवस्थामा रहेपनि आफूहरु आएपछि चार लेन बनाउने काम भैरहेको उनले जनाए । महासेठले थपे– अहिले धमाधम काम भैरहेको छ। महेन्द्र राजमार्गलाई मेची–महाकालीसम्म चार लेन बनाउनेगरि काम सुरु गरिसकेका छौं । बुटवलबाट काम सुरु भैसकेको छ । अब कमलाबाट पनि सुरु गर्न गैरहेका छौं । र, आगामी चुनावसम्म यो राजमार्ग चार लेन बन्छ । म दाबाका साथ भन्छु ।

उनले मदन भण्डारी राजमार्ग (झापाको बाहुनडाँगीदेखि लिएर शान्तिनगर हुँदै डढेलधुराको रुपायलसम्म) आफूहरुले नयाँ योजना ल्याएकोपनि सुनाए । उनले भने,‘करिब–करिब त्यो कामपनि अगाडि बढिसकेको छ । देशमा राजमार्गसँगको दायाँ–बायाँ दक्षिण र उत्तर ६ लेनहरु आगामी १८ महिनाभित्र हामी पूरा गर्न गैरहेका छौं ।’ त्यस्तै उनले रेलमार्गको सम्बन्धमा प्रि–फिजिविलटीको कामहरु सम्पन्न भैसकेको उल्लेख गर्दै अब डिपिआर बनाउने चरणमा पुगेको बताए ।

मन्त्री महासेठले भने,‘बर्दिवासदेखि काँकडभिट्टा हामी निकट भविष्यमा नै सम्झौता गर्न गैरहेका छौं । २४६ किलोमिटर फाष्ट ट्रेनको रुपमा यसलाई विकास गरेर हामीले निकट भविष्यमा एग्रिमेन्ट गर्न गैरहेका छौं । त्यस्तै जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास यही डिसेम्बरबाट सकभर सञ्चालन गर्न हामी गैरहेका छौं ।’

काठमाडौंदेखि केरुङसम्मको प्रि–फिजिवीलिटी सम्पन्न भैसकेको जनाउँदै अब डिपिआर बनाउन थालिसकेको पनि उनले जानकारी दिए । मन्त्री महासेठले भने,‘त्यस्तै भारतसँग सहमति भएअनुसार विरगंज–काठमाडौं रेलमार्गको प्रि–फिजिविलीटी सम्पन्न भैसकेको छ । अब छिट्टै डिपिआर बनाउन लागिसकेका छौं । यो छोटो अवधिमा पनि हामीले यी नयाँ–नयाँ कामहरु गरेर ल्याएका छौं ।’

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह