काठमाडौँ, ३ वैशाख २०८३ — एफवानसफ्ट इन्टरनेशनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा सनत कुमार पौडेललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ।
सह–संस्थापक सुबास शर्मा पछि पौडेलले नेतृत्व सम्हाल्ने भएका हुन्। शर्मा एक दशकभन्दा बढी समय सीईओका रूपमा रहेर कम्पनीलाई डिजिटल वित्तीय सेवामा अग्रणी संस्थाका रूपमा स्थापित गर्न सफल भएका थिए। उनी अब निर्देशकको भूमिकामा रहँदै समूहको रणनीतिक नेतृत्वमा संलग्न रहने जनाइएको छ।
हाल फोननेक्स्ट प्रालिका सीईओ रहेका पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन्। यसअघि उनले नबिल बैंकमा लामो समय काम गर्दै भुक्तानी प्रविधि तथा डिजिटल रूपान्तरण कार्यक्रमको नेतृत्व गरेका थिए। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका उनी अनुभवी विज्ञ मानिन्छन्।
निवर्तमान सीईओ शर्मा भन्छन्, “हामीले निर्माण गरेको आधारप्रति गर्व छ। अब कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सनतको नेतृत्वमा पूर्ण विश्वास छ।”
एफवानसफ्टले मोबाइल भुक्तानी सेवा सुरु गरेर डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्मसम्म विस्तार गर्दै नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै वित्तीय पहुँच विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई तीव्र बनाएको छ।
नव नियुक्त सीईओ पौडेलले कम्पनीको आधारलाई अझ मजबुत बनाउँदै प्रविधिगत नेतृत्व सुदृढ गर्ने र सेवा विस्तारलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नेपालको वित्तीय प्रविधि क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य पनि उनले राखेका छन्।
नेतृत्व हस्तान्तरणलाई कम्पनीले सुदृढ सुशासन र निरन्तरताको संकेतका रूपमा व्याख्या गरेको छ। तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले संस्थागत क्षमता विस्तार र अन्तर्राष्ट्रिय स्तरमा उपस्थिति बढाउने लक्ष्य लिएको छ।










प्रतिक्रिया