Logo

अर्थनीति

व्यावसायिक पुष्प खेतीमा मनग्य आम्दानी, आयात रोके आत्मनिर्भर बन्न सकिने


GDP नेपाल
   ३ कार्तिक २०७९, बिहिबार


अस्मिता शाह
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जैविक विविधताले भरिपूर्ण देश नेपालमा विश्व बजारमा पाइने सबैखाले पुष्प उत्पादन गर्न सकिने भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई सम्बोधन गर्दै गोल्छाले परम्परागत फूलसँगै नयाँमा पनि जोड दिन व्यवसायीलाई आग्रह गरे ।

अध्यक्ष गोल्छाले अन्य व्यवसायको तुलनामा पुष्प व्यवसायमा गरिने लगानीको प्रतिफल धेरै हुने देखिए पनि सहज भने नभएको बताए । “यसमा प्रविधिको पूर्ण ज्ञान,चाहिन्छ भने अत्यन्त मेहनत गर्नुपर्ने भएकाले यो व्यवसाय देखिए जति सहज नभएको मैले महशुस गरेको छु,” उनले भने ।

कार्यक्रममा उनले नेदरल्याण्ड विभिन्न प्रकारका पुष्प उत्पादन गर्ने विश्वकै प्रमुख देश भएको उदाहरण दिँदै भने, “अहिले पुष्प निर्यात गर्ने प्रमुख देशको रुपमा नेदरल्याण्ड परिचित भएको छ, जसले वार्षिक ५० हजार करोडसम्मको पुष्प निर्यात गर्ने गरेको छ ।”

विश्व बजारमा पुष्पको उच्च माग रहेको जनाउँदै गोल्छाले नेपाल जैविक विविधताले भरिपूर्ण देश भएकाले यहाँ सबै प्रकारका पुष्प उत्पादन गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

“विश्वमा त्यस्तो कुनै पनि पुष्प छैन होला जुन हामीले यहाँ उत्पादन गर्न सक्दैनौं,” अध्यक्ष गोल्छाले भने, “लगानी र प्रविधि भित्र्याउन सके हामीले निर्यातमूखी फूल व्यवसायको सुरुवात गर्न सक्छौ ।” पुष्प व्यवसायले देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिन सक्ने उनले बताए ।

कार्यक्रममा विशेष अतिथि चर्चित हास्यकलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा पुष्पको अहम् भूमिका रहेको धारणा राखे । चलचित्र, टेलिचलचित्र र सम्पूर्ण रंगमञ्च क्षेत्रमा पुष्पले छुट्टै भूमिका खेल्ने उल्लेख गर्दै उनले भने, “चलचित्रमा पनि बगैंचाको सिनमा छायांकन गर्दा फूलले नै त्यसको स्वभा बढाएको हुन्छ । फूल नै छैन भने त्यो ठाउँमा छायांकन गरेको दृश्य नै राम्रो हुँदैन ।”

कालाकार आचार्यले पुष्प व्यवसायले आर्थिक लाभ मात्र दिने नभएर यसले मानिसलाई स्वस्थ जीवन जीउन मद्दत गर्ने बताए ।

फुर्सदको समयमा आफू पनि घरको बैगैचामा केही समय बिताउने गरेको सम्झँदै उनले भने, “केही समय बगैचाँमा काम गर्नु भनेको व्यायाम गर्नु पनि हो । किनकी, यसमा हात चलाइन्छ, टुक्रुक्क बसिन्छ, गमलाहरु मिलाइन्छ, यी सबै कार्यहरु व्यायाम नै हुन् ।”

पछिल्लो समय नेपाल पुष्पमा आत्मनिर्भर बन्दै गएको बताँउदै आचार्यले यसलाई थप विस्तार गरी देशको अर्थतन्त्रमा सहयोग पुग्ने गरी उद्योगकको रुपमा विकास गर्नमा जोड दिए ।

कार्यक्रममा वनस्पति विभागका महानिर्देशक राधा वाग्लेले गोदावरी फूल चाडपर्वका लागि मात्र सीमित नभएर औषधिको रुपमा पनि प्रयोग हुने बताएकी छन् ।

उनले गोदावरी फूल १५ औं शताब्दीतिर चीनमा औषधिको रुपमा प्रयोग गरिने विरुवाको रुपमा परिचित भएको बताइन् । उनका अनुसार यस फूलका २० हजार कल्टिभासको विकास भइसकेको छ । यस्तै, नेपालमा २०४८ साल देखि नै टिस्यू कल्चर सुरु भएको जनाउँदै हालसम्म ५ हजार भन्दा बढी प्रकारका गोदावरी फूलहरुको उत्पादन प्रदर्शनमा राखिएको उनले बताइन् ।

वनस्पति विभागले राष्ट्रिय उद्यान गोदावरीमा २०५३ सालदेखि नै गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेता पनि हाल निजी क्षेत्रबाट फ्यानले यो प्रदर्शनीलाई निरन्तरता दिएकोमा आफू निकै हर्षित भएको जनाउँदै उनले विभागको तर्फबाट आभार व्यक्त गरिन् ।

यस्तै, सरकारले हाल प्लाष्टिक जन्य फूल आयातलाई निरुत्साहित गर्ने नीति लिएको र यस प्रकारका कार्यक्रमले सो नीतिलाई सार्थकता दिन मद्दत गरेको उनले धारणा राखिन् ।

कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले सरकार खाद्य सुरक्षाको कुरामा बढी केन्द्रित भइरहँदा पुष्प क्षेत्रमा लगानी नपुगेको जस्तो महसुस भइरहेको बताए ।

पुष्प व्यवसायले आर्थिक, व्यवसायीक र रोजगारी सिर्जनाका क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान दिएको बताउँदै उनले भने, “निर्यातमा ठूलो महत्व बोकेका यस क्षेत्रमा थप कामहरु हुनुका साथै राज्यले लगानी बढाउनु पर्नेमा पहल गर्नुपर्ने देखिन्छ ।”

यस्तै, सरकारले पुष्प क्षेत्रलाई मध्यनजर गर्दै पुष्प प्रर्वद्धन निती जारी गरेको र आगामी दिनमा पनि सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको उनले बताए ।

कार्यक्रममा मेलाका सह–आयोजक तथा पशुविकास केन्द्र गोदावारीका केन्द्र प्रमुख सुधिर श्रेष्ठले पुष्प व्यवसायले सरकारबाट पाउनु पर्ने सहयोग नपाएको गुनासो गरे । उनले पुष्प व्यवसायलाई सरकारले प्रार्थमिकता नदिएको र देश संघीयतामा गइसकेपछि यो व्यवसाय ओझेलमा परेको हो की भन्ने प्रश्न समेत खडा भएको बताए ।

खाद्य सुरक्षाका हिसाबले पुष्प व्यवसाय महत्वपूर्ण नभए पनि रोजगारी र निर्यात क्षेत्रमा भने यस व्यवसायले अहम् भूमीका खेल्ने श्रेष्ठले जनाए ।

“पुष्प व्यवसाय निर्यातको प्रचुर सम्भावना बोकेको बाली भएको कारणले गर्दा यसले राज्यका निकायबाट उचित प्राथमिकता पाउनुपर्छ,” उनले भने ।

उनले अन्य कृषीजन्य व्यवसायको तुलनामा पुष्प व्यवसायको प्रतिफल धेरै रहेको दाबी गरे । “तरकारीमा प्रतिहेक्टरको प्रतिफल बढीमा १० लाख रहेको छ भने पुष्पमा प्रतिहेक्टर १ करोडभन्दा बढी प्रतिफल देखिन्छ,” उनले भने ।

त्यस्तै, भारतबाट तयारी फूल आयात पूर्ण रुपमा बन्द नगर्दासम्म नेपाल आत्मनिर्भर बन्न नसक्ने उनले बताए । नेपाल फूलमा आत्मनिर्भर नबन्दा आयात गर्नु परेको भन्दा पनि आयात गरेका कारणले आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ ।
भारतबाट फूल आयात बन्द गरेमा एक वर्षभित्रमा नेपाल आफै आत्मनिर्भर बन्न सक्ने उनले दाबी गरे ।

कार्यक्रममा पुष्प प्रदर्शनीमा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत समेत गरिएको थियो । प्रदर्शनीमा टीटीआर बंगलामूखी नर्सरीेले तृतीय स्थान हात पारेको थियो भने थापा नर्सरी द्वितीय स्थानमा पुरस्कृत भएको थियो ।

 

यस्तै, प्रथम स्थानमा भने सम्झना नर्सरी पुरस्कृत भएको थियो । उत्कृष्ट रिफ्लेक्स र उत्कृष्ट स्पाईडरतर्फ पनि सम्झना नर्सरी सम्मानित भएको थियो । उत्कृष्ट इनकर्पतर्फ थापा नर्सरी पुरस्कृत भएको थियो भने उत्कृष्ट मिनियचरमा टीटीआर बंगलामूखी सम्मानित भएको थियो ।

कार्यक्रम आयोजक फ्यानका अनुसार ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’, भन्ने नाराका साथ जावलाखेलस्थित खेलमैदान सुरु भएको सो प्रदर्शनीमा ५५ वटा स्टल रहेका छन् ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी सुरु गरिएको सो प्रदर्शनी कात्तिक ३ गतेदेखि ६ गतेसम्म रहने छ । आयोजकका अनुसार उक्त प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल र दुई वटा प्रतियोगितात्मक स्टल रहेका छन् ।

 

 

 

 

 

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह