Logo

मुख्य समाचार

प्लाष्ट नेपाल फाउन्डेशनको अध्यक्षमा दीपक श्रेष्ठ


GDP नेपाल
   २९ पुस २०७९, शुक्रबार


प्लाष्ट नेपाल फाउन्डेशनको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभाले दीपक श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विवेक तातेड, उपाध्यक्षहरुमा सुयश प्याकुरेल र विनित कुमार अग्रवाल रहेका छन् । यस्तै, सदस्यहरुमा भरत राज आचार्य, सञ्जय अग्रवाल, बैंकटेश मुन्दडा, आशिक श्रेष्ठ, पवन कुमार संचेती, अरुण पिया र निवर्तमान अध्यक्ष राहुल अग्रवाल रहेको फाउण्डेशनले जनाएको छ ।

नेपालका अग्रणी उद्योगी व्यवसायीहरुको सक्रियतामा स्थापित फाउण्डेशनले प्लाष्टिक उद्योगको विकास र विस्तारमा देखिएका समस्या र चुनौतीका विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दै आएको छ ।

कार्यक्रममा व्यवसायीहरुले प्लाष्टिकको महत्व, यसको सहि प्रयोग र व्यवस्थापनलाई चुनौतीका रुपमा हेरिए पनि यसलाई दैनिक आवश्यकताको वस्तुको रुपमा लिनुपर्ने बताए । हाल नेपालमा दुई हजार हाराहारीमा प्लाष्टिक उद्योगहरु छन्, जसमा ५० अर्बको लगानी रहेको छ भने दुई लाख भन्दा बढी मानिसहरुले रोजगारीको राम्रो अवसर समेत पाएका छन् ।

१८ अर्ब राजस्व तिरेको प्लाष्टिक उद्योगलाई राज्यले हेर्ने दृष्टिकोणमा भने परिवर्तन नभएको बताउँदै उद्योगीहरुले यसलाई फोहोरको रुपमा नभई मोहोरको रुपमा हेर्न र यसको उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । पछिल्लो तथ्यांक अनुसार मुलुकको अर्थतन्त्रमा मुख्य भूमीका खेल्दै आएको यस उद्योगले हाल ४ अर्ब रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु निकासी गर्दै आएको छ ।

कार्यक्रममा प्लाष्ट फाउन्डेशनका निवर्तमान अध्यक्ष राहुल अग्रवालले यस उद्योगलाई निर्यातजन्य वस्तुहरुको सूचीमा राख्नका साथै सोही अनुसारको नगद अनुदानको व्यवस्था भए प्लाष्टिकजन्य वस्तुको निकासी अझ बढाउन सकिने बताए । यसका साथै आज प्लाष्टिकजन्य वस्तुमा ३० देखि ५० प्रतिशत भ्यालू एड हुने गरेको उनले बताए ।

यस्तै, कच्चा पदार्थ आयातमा सरकारका तर्फबाट भन्सार छुट र  खुला सिमाका कारण हुने गरेको चोरी पैठारी रोक्न सके व्यवसाय वृद्धिमा पूर्ण सहयोग पुग्ने उद्योगीहरुको भनाइ रहेको थियो । फाउन्डेशनले प्लाष्टिकका बारेमा जनचेतना जागृत गराउने र यसको उपयोगीताका बारेमा जानकारी गराउने उदेश्यले प्लाष्ट एक्स्पो समेत आयोजना गर्दै आएको छ ।

कार्यक्रममा अर्थशास्त्री विश्वास गौचनले मुलुकको अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको योगदान, त्यसको प्रयोग, उपयोग र यसले वस्तु आयात तथा उत्पादनमा पारेको प्रभावका विषयमा आफ्नो धारणा व्यक्त गरे । उनले अर्थतन्त्र सूचकलाई गम्भीर ढंगबाट बुझ्न र सोही अनुसार लगानीलाई व्यवस्थित गर्न उद्योगीहरुलाई आग्रह समेत गरे ।

त्यस्तै, नेपाल उद्योग संघका अध्यक्ष विष्णु अग्रवालले आत्मनिर्भर अर्थतन्त्र विकासका लागि स्वदेशी लोगोसहित वस्तु उत्पादनमा जोड दिनुपर्ने बताए । मेक इन नेपाल स्वदेशी अभियानलाई अगाडी बढाउन अब उद्यमीहरु आफै लागिपर्नु पर्नेमा उनले जोड दिए । देशभर १५ वटा औद्योगीक क्षेत्रहरु रहे पनि हाल ९ वटा मात्र सञ्चालनमा रहेको जनाउँदै उनले बाँकी ६ वटा औद्योगीक क्षेत्रलाई पनि छिट्टै सञ्चालनमा ल्याउन सके यसले अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र जटिल अवस्थामा रहेकाले अब आयातलाई क्रमश घटाउँदै लग्नुपर्ने र स्वदेशी उत्पादित वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने बताए । 

उनले प्लाष्टिकलाई व्यवस्थित गर्न र प्रयोग गरिसकेका वस्तुहरुको पुन प्रयोगका लागि छुट्टै रिसाइकल उद्योग स्थापना गर्न उद्योगीहरुलाई आग्रह समेत गरे । यस्तै, चालुपूँजी कर्जाले ठूला उद्यमीहरुको हकमा४० प्रतिशतसम्म पुयाउन सके उद्यमीहरुलाई केही राहत पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले प्लाष्टिकको उपयोगीता र यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेकाले यसको विकास र विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । प्लाष्टिक व्यवस्थापन नै मुख्य चुनौती रहेकोले त्यसको पुन प्र्रयोगलाई अध्ययन गरी त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

आज मुलुकमा वार्षिक १० खर्बको रेमिट्यान्स भित्रिएपनि ४२ प्रतिशत रकम कृषिजन्य वस्तुहरुको उत्पादन र मेसीनरी सामान ल्याउनमा नै प्रयोग भइरहेको उनले बताए । यस्तै, ३ सय २५ अर्ब इन्धन आयात खर्च भएकाले आयातलाई प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासमा जोडदिनुर्ने उनको भनाई थियो ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह