Logo

कृषि / सहकारी

निकासी नहुँदा कुहियो आठ सय टन जडीबुटी


GDP नेपाल
   १४ चैत्र २०७९, मंगलबार


व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो ।

जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको छ । “यसले जडीबुटी व्यवसायी, व्यापारी र किसानलाई ठूलो मार पर्ने देखिन्छ”, उहाँले भन्नुभयो । दुई वर्षदेखि निर्यातका लागि प्रशोधन गरेको जडीबुटी लामो समय बोरामा थन्किँदा कुहिने अवस्थामा पुगेको भन्दै व्यवसायीले निकासीको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेदलगायत जडीबुटी विभिन्न नाकामा थन्किएको छ । जडीबुटी निकासीबाट राजस्वमा योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत भएकाले निकासीमा हुने अवरोध हटाउने विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ‘एजेन्डा’ बनाउन आग्रह गर्नुभयो ।

व्यवसायी मोहम्मद याकुब अन्सारीले निकासी रोकिएपछि गोदाममा थन्किएको अधिकांश जडीबुटी कुहिन थालेको बताउनुभयो । भारतको अवरोधले नेपालगञ्जबाट निकासी हुने जडीबुटी निर्यात बर्सेनि घट्दै गएको छ । सङ्घका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार सात सय ७७ किलो जडीबुटी निकासी भएको थियो । आव २०७८÷७९ मा घटेर ४२ लाख २० हजार दुई सय २८ किलो जडीबुटी भारत निर्यात भएको छ ।

बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्जलगायत नाकाबाट भारत निकासी हुँदै आएको छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह