विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर (१२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ) ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।
‘स्वास्थ्यलाई प्राथमिकता दिएर लगानी गरेमा नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धि लगायतका धेरै फाइदा लिन सक्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद-जेर्भोसले भने, ‘विश्व बैंकले स्वास्थ्य प्रणाली नीति,योजना र सेवा प्रवाहको मुख्य आधारमा गुणस्तर राख्ने नेपालको लक्ष्यलाई समर्थन गर्दछ।’
नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नेछ । जसमा स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्तपोषण, सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच प्रवर्द्धन समावेश हुनेछ ।
प्रतिक्रिया