नवलपुर । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरे ।
करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ ।
माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् । परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको धारणा राखे । तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताए । मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले उल्लेख गरे।
प्रतिक्रिया