Logo

Sub-banner

पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता


GDP नेपाल
   ५ जेष्ठ २०८०, शुक्रबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
 
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिनुभयो ।
 
युरोपेली सङ्घ  (इयू) ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचिमा राखेको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो । 
 
सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
 
नेपालले हवाई सूरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिवन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको पछिल्लो ‘अडिट’ले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।
 
उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७० दशमलव एक प्रतिशत अङ्क प्राप्त गरेको छ जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।
 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीमा सिधा उडानका लागि प्रक्रिया थालेको सन्दर्भमा यो भेटलाई निकै चासोका साथ हेरिएको छ । वायुसेवा निगमले बेलायतको लण्डनमा विगतमा सिधा उडान गरेको थियो ।
 
यस्तै भुतपूर्वगोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल भएकोले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह