Logo

राजनीति

पाँच लाखभन्दा कमका योजना सङ्घमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे


GDP नेपाल
   ३२ जेष्ठ २०८०, बिहिबार


गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अग्रीम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाख मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पार्नुभयो । 
 
आज नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री पाण्डेले रु पाँच लाखभन्दा मुनीका योजना एकसय भन्दा बढी रहेको भन्दै प्रभावहीन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य नहुने बताउनुभयो ।
 
“प्रदेश र स्थानीय तहलाई बलियो बनाउने पनि भन्ने तर ठूला योजना सङ्घमै राख्नु राम्रो होइन”, उहाँले भन्नुभयो, “कम बजेटका योजना कि स्थानीय तहमा पठाइदिनुपछि होइन भने सङ्घमै राख्नुपर्छ ।”
 
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा रहेको भन्दै उहाँले सडक पूर्वाधारमा रु ३० लाखभन्दा कम बजेटका योजना  खानेपानी तथा सिंचाईको हकमा रु १० लाखभन्दा कम बजेटका योजना नल्याउने स्पष्ट पार्नुभयो ।
 
“करोडौँका योजनामा रु पाँच लाख मात्रै छुट्याएर अलपत्र पार्ने काम गण्डकी सरकारले गर्दैन, बजेट खर्च गरिसकेपछि सम्पन्न हुनुपर्छ र त्यसको तत्काल जनताले उपयोग गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो । 
 
प्रदेश र स्थानीय सरकारले वैदेशिक ऋण लिन नपाउने, ऋण उठाउन पनि १२ प्रतिशतको सिमा तोकिदिने, विनियोजित बजेट पनि अन्तिममा आएर काटिदिने जस्ता सङ्घ सरकारको क्रियाकलापले वित्तीय सङ्घीयता बलियो नभएको मुख्यमन्त्री पाण्डेको बुझाइ छ ।
 
गण्डकी प्रदेशका २७ वटा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नगर विकास कोषलाई चाँडो पुर्नसंरचना गर्दै स्थानीय सरकारको वैकल्पिक आर्थिक स्रोतको सुनिश्चितता गर्न सङ्घ सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । 
 
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले मुलुकभरका ९० नगरपालिकामा दीगो आयमूलक पूर्वाधार र एक सय १० भन्दा धेरै स्थानमा खानेपानीका योजनामा रु १५ अर्ब बराबरको लगानी गरिरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारलाई ऋण र अनुदानको समिश्रणबाट वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा प्राविधिक एवं आर्थिक सहजीकरण गरिरहेको बताउनुभयो ।
 
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भिम ढुङ्गानाले कोषको पुर्नसंरचनाका लागि रणनीतिक पत्र स्वीकृत भएर कानून बन्ने अन्तिम तयारीमा रहिरहँदा कोष ‘अटोनोमस’ हुनेमा आशङ्का रहेको भनाइ राख्नुभयो । 
 
कार्यक्रममा नगर विकास कोषका सदस्य हिक्मतजङ्ग कार्की, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, पूर्वसचिव कृष्णहरि बास्कोटा, कोषका पूर्वकार्यकारी निर्देशक सुशिल ज्ञवालीलगायतले ऋण र अनुदान लिने अन्य विकल्प नभएका पालिकाले कोषमार्फत् लगानी भित्र्याएर जनअपेक्षा अनुरुप विकासको गति बढाउन सुझाव दिनुभयो ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह