काठमाडौं । बालेन सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन् ।
श्रेष्ठले शुक्रबार अन्य मन्त्रीहरुसँगै शपथ लिए ।
यसअघि युवा तथा खेलकुद मन्त्री रहिसकेका विराजभक्त श्रेष्ठ उज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीतिका उत्पादन हुन् ।
विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेशसभा सदस्यको कार्यकाल पूरा गरेका विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले आजबाट सम्हालेको ऊर्जा मन्त्रालयमा यसअघि साढे ४ दर्जन मन्त्री भइसकेका छन् । जसमा उनका ससुरा शरतसिंह भण्डारी समेत रहेका छन् ।
शरतसिंह विराजका ससुरा हुन् । उनले पञ्चायत, बहुदलीय व्यवस्था र गणतन्त्रमा गरी २१ पटक मन्त्री भएको रेकर्ड राखेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा भने उनले २०७८ जेठ २१ गतेदेखि असार ८ गतेसम्म जम्मा १९ दिनमात्र मन्त्री बन्ने अवसर पाएका थिए ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले निर्वाचन घोषणापछि मन्त्रीपरिषद् विस्तार गरेको भन्दै पछि थपिएका मन्त्रीहरुलाई हटाउन सर्वोच्च अदालतले आदेश दिएसँगै उनले मन्त्री पदबाट फिर्ता हुनुपरेको थियो ।










प्रतिक्रिया