Logo

अर्थनीति

सोल्टीको ५ अर्बको आकर्षक सेयरमा माफियाको आँखाः पूर्वगभर्नर नै मतियार ?


gdpnepal
   १४ आश्विन २०८०, आइतबार


काठमाडौं । धितोपत्र बजारमा सोल्टी होटलको सेयर आइतबार प्रतिकित्ता ४८३ रुपैयाँ ५० पैसामा कारोबार भयो । सोल्टीको फेस भ्यालु १० रुपैयाँ मात्र रहेकाले आजको मूल्य मूल्य फेस भ्यालुको तुलनामा ४८.३५ गुणाले बढी हो ।

यसरी हेर्दा नेपालको पहिलो पाँचतारे होटल अन्नपूर्णसँगै खुलेको सोल्टीको सेयर पुँजी बजारको ‘हटकेक’ भन्दा फरक पर्दैन ।

लाभांशका हिसाबले पनि सोल्टी अब्बल छ । अघिल्लो वर्षमात्र यो होटलले बोनस सेयर र नगद लाभांश गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर तथा २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश बाँडेको हो ।

होटलको संस्थापक सेयरधनीमध्येको एक राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको सोल्टीमा कूल १० प्रतिशत सेयर छ । आइतबारको कारोबारअनुसार यो सेयरको मूल्य ५ अर्ब हाराहारी (४ अर्ब ९९ करोड ६३ लाख) रुपैयाँ हुन आउँछ ।

निगमको यति ठूलो स्टेक रहेको र राम्रो लाभांश पाइरहेको सेयर बिक्री गरेर नयाँ जहाज किन्न स्रोतको जोहो गरिनुपर्ने भन्दै एक समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

निगमलाई जहाज खरिदका लागि ऋण दिन नेपालका कुनै पनि वित्तीय संस्था तयार छैनन् । सरकार जमानी बसेर प्राप्त गरेको ऋणको किस्ता समयमै नबुझाएर कर्मचारी सञ्चय कोषको ‘ब्ल्याक लिष्ट’मा परिसकेको निगमलाई जहाज किन्नैपर्ने अवस्था पनि छैन ।

तर, जहाज खरिदमा हुने आर्थिक लाभको लेखाजोखा गरिएकै कारण जसरी पनि जहाज खरिद गर्नैपर्ने दबाबमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र उनको स्वार्थ समूहको चलखेलको मोहरा बन्न पुगेका छन्, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम कहिल्यै सुध्रन सक्दैन र यसमा थप लगानी गर्नु भनेको बालुवामा पानी हाल्नुसरह हो भन्नेमा आम सरोकारवाला स्पष्ट छन् ।

तर, मन्त्री किराँतीको जहाज किन्ने लिंडेढिपी र त्यसलाई स्रोत व्यवस्थापन भन्दै मलजल गर्ने पूर्व गभर्नर क्षेत्रीलगायतको कारण राम्रो लाभांश दिइरहेको र निगमलाई व्यावसायिक रुपमा पनि आफ्नै होटल भएका कारण सहयोग पु¥याइरहने सोल्टीको सेयर बिक्रीको पछाडि ठूलै स्वार्थ समूह लागिपरेको छिपेको छैन ।

आइतबार क्षेत्रीले बुझाएको प्रतिवेदनमा निगमको आन्तरिक स्रोतको बढी भन्दा बढी उपयोग गर्दै जहाज खरिद तथा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यसअघि एयरबसका साना ठूला जहाज खरिदमा लिइएको ऋणको सावाँ ब्याजसहित ४८ अर्ब रुपैयाँ माथि पुगेको र सो ऋणको ब्याज समेत १० प्रतिशतमाथि रहेकाले सस्तो ऋण खोजी पुरानो ऋण तिर्न समितिले सुझाव दिएको छ । जबकी यसअघि खरिद गरिएको जहाजको इन्जिन मर्मत समयमा गर्न नसक्दा निगमले अर्बौं गुमाइसकेको छ ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह