वासिङ्टन । अमेरिकी नागरिक जेफ बेजोस विश्वकै धनी हुन् । तर, उनको परिचय अब यतिमा सीमित छैन । उनी विश्वकै दानीका रुपमा पनि नाम लेखाएका छन् ।
गत वर्ष बेजोसले बेजोस डे अन् फन्डको माध्यमबाट २ अर्ब डलर दान गरेका थिए । यसले घरविहीन परिवारका लागि सहयोग गर्दै आएको छ ।
यता, अलेक्जेन्ड्रादेखि वारेन बफेटसम्मले धनीले उच्च कर तिर्नुपर्ने बताउँदै आएका छन् । फिलान्थ्रोपी– ५० सूचीले अमेरिकाका धनीले गत वर्ष कति सम्पत्ति दान गरे भन्ने विषयमा सार्वजनिक गरेको छ ।
गत वर्ष देशका ५० दानवीरहरूका समूहले ७.८ अर्ब डलर दान गरेका छन् । यो अघिल्लो वर्षको १४.७ अर्ब डलरको दाँजोमा झन्डै आधाले कम हो ।
यो सूचीमा सर्वाधिक दान गर्ने पहिलो स्थानमा जेफ बेजोस परेका छन् । विश्वकै धनी बेजोसले विगतमा परोपकारी काममा थोरै मात्र दान गरेकोमा आलोचित हुँदै आएका थिए ।
५० सर्वाधिक दान गर्नेको सूचीमा दोस्रो स्थानमा माइकल ब्लुमबर्ग रहेका छन् ।
५६ अर्ब डलर सम्पत्ति भएका उनले ७६ करोड ७० लाख डलर दान गरेका छन् । उनको यो दान कला, शिक्षा, वातावरण, सार्वजनिक स्वास्थ्य लगातका क्षेत्रमा जानेछ । उनले अघिल्लो वर्ष २० करोड २० लाख डलर दान गरेका थिए ।
दान गर्ने मामिलामा २०१७ मा पहिलो स्थानमा रहेका बिल एन्ड मेलिन्दा गेट्स गत वर्ष १२ औं स्थानमा झरेका छन् । उनीहरूले आफ्नो बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनका लागि १३ करोड ८० लाख डलर मात्र दान गरेका थिए । यद्यपि १९९४ देखि हाल सम्मको अवधिमा उनीहरूले ४५.५ अर्ब डलर दान गरिसकेका छन् ।
फेसबुबबा संस्थापक मार्क जुकरबर्ग र प्रिन्सिला चान पनि २०१७ को दोस्रो स्थानबाट २०१८ मा सातौं स्थानमा ओर्लिएका छन् । २०१७ मा उनीहरूले २ अर्ब डलर दान गरेकोमा २०१८ मा गएर २१ करोड ४० लाख डलर मात्रै दान गरेका छन् ।
उनीहरूले चान जुकरबर्ग इनिसियटिभ डोनर एडभाइज्ड फन्डको माध्यमबाट हालसम्म १.८ अर्ब डलर दान गरिसकेका छन् ।
प्रतिक्रिया