Logo

कृषि / सहकारी

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो


GDP नेपाल
   २ कार्तिक २०८०, बिहिबार


ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । 

यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।

ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताउनुभयो । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उहाँको भनाइ थियो । 

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिनुभयो । “खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ”, उहाँले भन्नुभयो ।

स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उहाँले भन्नुभयो, “करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ ।”

दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

प्रकाशित : २ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह