चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकको नाफा १४.३१ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ३५ प्रतिशतले बढेको छ । चालू आवको ६ महिनासम्म बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १३१.४४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।
यसका साथै, चालू आवको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहेको देखिएको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १.१० रुपैयाँ घटेर ६.६१ रुपैयाँ कायम भएको छ । त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा र प्रतिशेयर नेटवर्थ १३६.८२ रुपैयाँ छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख छ भने जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमाससम्म बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिक्रिया