Logo

बैंक / बिमा /शेयर

मेगा बन्यो देशकै तेस्रो ठूलो वाणिज्य बैंक


appharu
   ३० बैशाख २०७५, आइतबार


काठमाडौं । सबैभन्दा बढी प्रबर्द्धक रहेको भन्दै आलोचित मेगा बैंक मुलुककै तेस्रो ठूलो वाणिज्य बैंक बनको छ । बैंकले टुरिजम् डेभलपमेन्ट बैंकलाई आइतबार विधिवत मर्ज गर्दै आकार बढाएको हो ।

टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । शाहका अनुसार मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ भने १० करोड रुपैयाँ पुँजीगत जगेडामा थप भएको छ ।

टुरिजम् डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।
मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि यी शीर्षकमा बैंकको स्थान क्रमशः २६ औं र २७ औं रहेको थियो ।

मेगा बैंकका देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ ।
यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए ।
मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ ।
संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बतादावी गरे ।

यस्तै, बैंकका सीईओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरु पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको उनको भनाइ छ ।

प्रकाशित : ३० बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह