Logo

कर्पोरेट-बजार

परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा छलफल


GDP नेपाल
   १ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको जानकारी दिए ।

अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा समेत सहयोग गर्न चिनियाँ पक्षलाई आग्रह गरे । सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यवसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे ।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने सल्लाह दिए । यस्तै, उक्त कार्यहरुका लागि चीन सदैव नेपालसँग सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको सोङले बताए ।

पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नती गर्नुपर्ने जनाउँदै उनले उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए । सोङले दुई देशबीच व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्षद्धय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह