Logo

कर्पोरेट-बजार

निजी क्षेत्रको योगदानलाई राज्यले नजरअन्दाज गरेको ढकालको भनाइ


GDP नेपाल
   १७ फाल्गुन २०८०, बिहिबार


नेपाल हिमालय सीमापार वाणिज्य संघले नवनिर्वाचित अध्यक्ष लगाएत संघका सम्पूर्ण पदाधिकारीलाई शुभकामना तथा बधाई दिएको छ ।

बुधबार शुभकामना तथा बधाई कार्यक्रमको आयोजना गर्दै संघले २४ औँ वार्षिक साधारण सभा र १२ औँ अधिवेशन निर्वाचित नयाँ पदाधिकारीको टोलीलाई बधाई तथा शुभकामना दिएको हो । यस्तै, सो कार्यक्रमकाबीच नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

संघको नयाँ कार्यकालका लागि अध्यक्षमा रामहरी कार्की चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा गंगा बहादुर घिमिरे, प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुदिप बस्नेत, भरत कार्की, निरन्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे रहेका छन् । यस्तै, महासचिवमा रामचन्द्र पराजुली, वरिष्ठ सचिवमा भरत बहादुर अर्याल, सचिवहरुमा विकास प्रसाद रिमाल, सुब्बा श्रेष्ठ, आङदोर्जे शेर्पा, तुलसी रावल र कोषाध्यक्षमा लालबहादूर बस्नेतलगाएत सदस्यहरु निर्वाचि भएका छन् । 

सो अवसरमा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अर्थतन्त्रको विकास र विस्तारमा नेपाल हिमालय सीमापार वाणिज्य संघको भूमीका महत्वपूर्ण रहेको बताए । हिमालय सीमापार वाणिज्य संघमा तिब्बत र चिनबाट हुने आयात व्यापारमा संलग्न व्यवसायीहरु आबद्ध रहेको बताउँदै ढकालले आगामी दिनहरुमा आन्तरीक उत्पादनमा समेत जोड दिई निकासीलाई प्रव्रद्धन गर्नुपर्नेमा जोड दिए । उत्तरी नाकाको लाइफलाइनको रुपमा रहेको तातोपानी नाका २०७२ सालको भूकम्प र कोभिडका कारण बन्द रहँदा नेपाली व्यवसायीले पाएको दुख स्मरण गर्दे अध्यक्ष ढकालले नाका पुन सञ्चालन गर्न आफूले चिनियाँ पक्ष र सरकारसँग छलफल गरी महत्वपूर्ण भूमीका निर्वाह गरेको जनाए ।

उनले उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेपछि बितेको ११ महिनामा आफूले नेपालमा लगानीको वातावरण सृजना गर्ने र उद्योग व्यापार तथा व्यवसाय संचालनमा देखिएका समस्या तथा चुनौतीका विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने काम गरेको बताए ।

कार्यक्रममा अध्यक्ष ढकालले नेपाली उद्यमी व्यवसायीले तिरेको राजस्व, जीडीपीमा पुर्‍याएको योगदान र रोजगारी सिर्जना गरेको विषयलाई सरकारले नजरअन्दाज गरेको गुनासो समेत व्यक्त गरे । उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएको बताए । अध्यक्ष ढकालले आगामी बैशाखमा हुन लागेको लगानी सम्मेलनलाई आफूहरुले गर्ने सहयोग मात्र पर्याप्त नहुने भन्दै सम्मेलन अघि परम्परागत र पुराना कानुनको सम्शोधन एवं पुर्नलेखन गर्न सरकारलाई सल्लाह दिए । उनले सुस्ताएको अर्थतन्त्र विकास गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले हिमालय सीमापार वाणिज्य संघले व्यवसायीलाई व्यवस्थित ढंगबाट व्यापार, व्यवसाय गर्न अभिप्रेरित गर्ने मियोको रुपमा काम गरेको बताए । हिमालय सीमापार वाणिज्य संघमा आबद्ध व्यवसायीहरुले मुलुकको राजस्वमा निकै सह्रानिय काम गरेको बताउँदै अध्यक्ष मल्लले अब संघमा आबद्ध व्यवसायीहरुले निर्यातलाई समेत प्रार्थमिकतामा राख्नुपर्र्ने बताए । नेपालले हाल चीनसँग १४५ अर्बको व्यापार घाटा बेहोरीरहेको प्रसंग जोड्दै उनले निर्यात जन्य वस्तुहरुको उत्पादनमा जोड दिन पनि आग्रह गरे ।

“आज चिनले १५ वटा महत्वपूर्ण जडीबुटी खरिद गर्ने सन्दर्भमा विधि र कानुनको खोजी गरिराखेको अवस्थामा अब व्यवसायीहरुले त्यस विषयमा ध्यान दिनुपर्छ”, उनले भने ।

यस्तै, मल्लले भन्सारले व्यवसायीलाई अनावश्यक दुख दिने गरेकोले कारोबार मूल्यलाई मान्यता दिन प्रशासनलाइ आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले हिमालय सीमापार वाणिज्य संघले सामाजीक र सांस्कृतिक सम्बन्धलाई दुई देशबीचको पुलको रुपमा काम गरेको बताए ।

उनले तातोपानी नाका, रोडको व्यवस्थापन राम्रो नुहुँदा नेपाली व्यवासायीले धेरै दुख र सास्ती भोग्न बाध्य भएको स्मरण गर्दै हाल सो समस्याको समाधान भएपछि व्यवसायीको कारोबारले गति लिन थालेको जनाए ।

“अब व्यवसायीहरुले आयात मात्र नगरी निर्यातमा जोडदिनुपर्छ”, उनले भने ।

उपाध्यक्ष ढकालले तेस्रो मुलुक निर्यात गर्ने उद्धेश्यले सरकारले २०१६ मा पारवहन सन्धी गरेको र आठ हजार भन्दा बढी वस्तु निकासीको सुविधा पनि दिएको जानकारी गराउँदै त्यसलाई प्रयोगमा ल्याउन पनि व्यवसायीलाई आग्रह गरे । ढकालले पछिल्लो पटक सरकारको व्यवसायीलाई थुन्ने र धरपकड गर्ने शैली अत्यन्तै निन्दनिय भएको टिप्पणी गरे ।

कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौड्यालले संघले अर्थतन्त्रको विकास र विस्तारमा पुर्‍याएको योगदानको विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह