Logo

कर्पोरेट-बजार

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता


GDP नेपाल
   १८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्र्धन गर्न निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल–क्यानडा उद्योग वाणिज्य संघले बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत पौडेल निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ’ उनले भने ।

पौडेलले नेपाली र क्यानेडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनमा आफू केन्द्रित रहने पनि बताए ।

यस्तै, क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरुमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताउँदै उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने जानकारी दिए ।

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन पनि आग्रह गरे ।

साथै, प्रचार सामग्री तयार गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गर्दे उनले भने, ‘प्रचार सामग्रीको गुणस्तरले पनि ठूलो अर्थ राख्छ, सामग्री तयार गर्दा गुणस्तरमा ध्यान दिनुहोला ।’ 

त्यस्तै, संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले संघ स्थापना भएको जनाउँदै द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवद्र्धनको लागि काम गर्ने बताए । नेपाली वस्तुले क्यानडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

केडियाले नेपालको निजी क्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूत पौडेलले महत्वपूर्ण भूमीका खेल्नेमा विश्वास व्यक्त गरे । साथै, उनले क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन राजदूत पौडेललाई आग्रह गरे ।

संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानेडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रुपमा केन्द्रित हुने जनाए ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह